भारतमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि लगाइएको लकडाउनका कारण मजदूरको बिचल्ली भएको छ । हजार किलोमिटर पर रहेको घर पनि उनीहरू हिँडेरै पुगिरहेका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेसन बाहिर सयौं प्रवासी मजदूर छन् । केही ट्रेन चल्ने भनी खबर पाएपछि उनीहरू त्यहाँ आइपुगे ।
लकडाउनका बेलामा डेढ महिनासम्म जसोतसो बसे पनि अहिले उनीहरूसँग एक पैसा बाँकी छैन ।
स्टेसन आएका मानिससँग उनीहरूले पैसा मागे तर कसैले पनि केही दिएन । ट्रेनको टिकट काट्नका लागि उनीहरूसँग पैसै छैन ।
मोहम्मद गियास नामक मजदूरले टाइम्स अफ इन्डियालाई बताए, ‘मेरो एउटै मात्र अपराध छ, म गरीब हुँ । मेरो दुःख मानिसलाई कसरी बुझाऊँ ? मलाई बिहारमा रहेको घर जानुछ । सरकारले हाम्रा लागि काम गरिरहेको छ रे तर हामी सडकमा छौं र घर जान कसैल सहयोग गरोस् भनी मागिरहेका छौं ।’
अर्की मजदूर कुन्दन देवीका पति मानसिक रोगी छन् । उनी गुडगाँवबाट हिँडेर नयाँ दिल्ली स्टेसन आइन् । प्रहरीलाई उनले टिकट कसरी पाइन्छ भनी सोध्दा प्रहरीले कुन्दनको पतिलाई लात हान्यो । त्यसपछि पतिले आफ्नो क्रोध
कुन्दन र तीन वर्षकी छोरीमाथि निकाल्यो र छोडेर हिँड्यो । अब पतिलाई कसरी खोज्ने भनी कुन्दन चिन्तामा छिन् ।
लकडाउनमा पैदलै टाढाटाढा रहेको घर जाँदै गरेका मजदूरको तस्वीरले भारतको शासन व्यवस्थामाथि ठूलो प्रश्न उठाएको छ ।