३१ जेठ २०८३, आइतबार
सेवामा समर्पण

गरीब र विपन्नका ‘परमेश्वर’ : पत्नी वियोगपछि हरेक महिना कमाइको ८०% दानमा खर्च

जेठ ३, २०७७
गरीब र विपन्नका ‘परमेश्वर’ : पत्नी वियोगपछि हरेक महिना कमाइको ८०% दानमा खर्च

जनकपुरधाम उपमहानगरपालिका–५ का ७३ वर्षीय परमेश्वर साहले लकडाउन अवधिमा ३ पटक ३–३ सय जना व्यक्तिलाई राहतका लागि खाद्यान्न सामग्री वितरण गरे । 

विपन्न दलित परिवारलाई साहले पौने ४ किलोग्राम चामल, २०० ग्राम दाल, आधा किलो आलू, आधा किलो नून सहितका खाद्य सामग्री वितरण गर्ने गरेका छन् । 

लकडाउनमा मात्र होइन, साहले विगत ११ वर्षदेखि प्रत्येक महिना ३०० व्यक्तिलाई राहत वितरण गर्दै आएका छन् । जनकपुरमा लकडाउनमा धेरै संघसंस्था तथा सामाजिक अभियन्ताले राहत र भोजन वितरणको चर्चा भएपनि परमेश्वर साह चर्चामा नै छैनन् ।

‘दान गर्दा दायाँ हातले गरेको दानबारे बायाँ हातलाई पनि खबर हुनु हुँदैन,’ साह भन्छन्, ‘मैले आफ्नो आत्मसन्तुष्टिका लागि गरेको दानको के प्रचार गर्नु ?’

पत्नी वियोगपछि दान

साहकी पत्नी प्रमिलादेवी साहको ब्लड क्यान्सरका कारण ११ वर्षअघि निधन भयो । जीवन संगिनीको मृत्युपछि विरक्त भएर घरमा नै बस्ने र बाहिर नजाने गरेका साहलाई एक दिन आफैंले केही न केही गर्नुपर्ने विचार आयो । उनी बिहानै उठेर जानकी मन्दिर पुगे । पूजा गरेर फर्किने बेला अब दीनदुःखीको भलाइका लागि केही गर्नुपर्ने इच्छा गरे ।

साहका २ जना छोरा अशोक र संजय काठमाडौंमै बस्छन् । दुवै छोराहरू त्यहाँ व्यापार गर्छन्, परिवारसहित दुवै काठमाडौंमा नै बस्छन् । छोराबुवाबीच अंशबण्डा समेत भएको छ ।

परमेश्वरको भागमा जनकपुरमा ४ वटा सटर परेका छन् । सटरको भाडाबाट परमेश्वरले मासिक करीब ५० हजार रुपैयाँ कमाइ गर्छन् । आम्दानी ५० हजार रुपैयाँमध्ये परमेश्वरले १० हजार रुपैयाँ आफ्नो खानबस्न तथा अन्य निजी काममा खर्च गर्छन् भने बाँकी ४० हजार रुपैयाँ दान गर्नमा छुट्याउँछन् । परमेश्वरले प्रत्येक महिना ३०० व्यक्तिलाई खाद्यान्न वितरण गर्ने गर्छन्, त्यसबाहेक अन्य दान र सहयोग पनि गर्छन् ।

मोतियाविन्दको शल्यक्रिया गर्न ज्येष्ठ नागरिकलाई सहयोग

परमेश्वरले प्रत्येक वर्ष आम्दानीमध्ये १ लाख रुपैयाँ विपन्न र असहाय घरपरिवारका ज्येष्ठ नागरिकको आँखाको मोतियाविन्दको शल्यक्रिया (अपरेसन) समेत गराइदिने गरेका छन् । जनकपुरको जानकी आँखा अस्पतालमा वर्षमा २५ जना व्यक्तिको आँखाको मोतियाविन्दको शल्यक्रिया गराइदिने गरेको उनले बताए ।

कोही विपन्न व्यक्ति आँखाको मोतियाविन्दको अपरेसन गराउन खर्च चाहिएर उनको घरमा पुग्दा उनी आफ्नो तर्फबाट एक जना व्यक्तिलाई ४ हजार २०० रुपैयाँ दिएर अस्पताल पठाइदिन्छन् । परमेश्वरले पठाएका व्यक्तिले अस्पतालमा बिरामी कार्ड बनाएर भर्ना गराइदिने गरेका छन् । ‘आँखाको अपरेसन गरेका व्यक्ति एक पटक मेरो घरमा आउने गर्छन्,’ साहले भने, ‘वृद्ध व्यक्तिले आफ्नो आँखाको रोशनी पाएको देख्दा भित्रबाट नै सन्तुष्टि हुने गर्छ ।’

गाउँबस्तीमा चापाकल जडान

परमेश्वरले कमाइको रकमबाट गाउँबस्तीमा खानेपानीका लागि चापाकल समेत जडान गरिदिने गरेका छन् । जनकपुरकै सार्वजनिक स्थान, चोक तथा विद्यालय समेतमा खानेपानी कल जडान गरिदिने गरेका छन् ।

‘ग्रामीण क्षेत्रका व्यक्तिहरू चापाकल जडान गरिदिन भन्दै उपमहानगरपालिकाको कार्यालय जान्छन्,’ साहले भने, ‘तर त्यहाँ बजेट अभावमा नहुने भन्दै कर्मचारीले नै आफू कहाँ ती व्यक्तिलाई पठाइदिने गर्छन् ।’ दान गर्नुपर्ने रकम बचत भए परमेश्वरले तत्कालै चापकल जडान गराइदिन्छन्, बचत नभए अर्को महिना पर्खन भन्छन् र अर्को महिना कल जडान गरिदिन्छन् ।

परमेश्वरले जनकपुरको कौवा, बसपार्क, पिडारी चोक, पेठिया बजार, जानकीनगर, मदर्सा, संकटमोचन विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थानदेखि दलित बस्तीमा चापाकल जडान गरिदिएका छन् ।   

‘पहिले–पहिले जनकपुर शहरभित्र २०० फिटभन्दा कम गहिराइमा नै पानी आउँथ्यो र चापाकल जडान गर्दा त्यतिधेरै खर्च लाग्दैन्थ्यो,’ साहले भने, ‘२०० फिटसम्म चापाकल जडान गराउँदा २० देखि २२ हजार रुपैयाँसम्ममा सबै कुरा हुन्थ्यो ।’ तर अब जनकपुरमा ४०० फिटमा पानी आउँछ, त्यसमा १ लाख रुपैयाँसम्म चापाकल जडान गर्न खर्च लाग्ने गरेका कारण जनकपुरमा एउटा मात्र चापाकल जडान गरेको उनी बताउँछन् ।

‘अब जनकपुरमा चापाकल जडान गर्न सक्दिनँ,’ साहले भने, ‘तर जनकपुर आसपासका कुनै पनि गाउँमा चापाकल जडान गराउने विपन्न व्यक्ति सार्वजनिक बस्तीका लागि आए म जतिबेला पनि तयार छु ।’ आएकै बेला पैसा नदिएपनि बजेट हेरेर अर्को महिनासम्म गाउँबस्तीमा चापाकल जडान गरिदिने उनी बताउँछन् ।

जनकपुरमा चिसो मौसममा शितलहर समेत चल्ने हुँदा विपन्न व्यक्तिलाई परमेश्वरले ओढ्ने शौल तथा कम्बल समेत दिने गरेका छन् । ‘मैले गरेको काममा छोराहरूले कहिल्यै हस्तक्षेप गरेका छैनन्,’ उनले भने, ‘बरु खुशी नै भएका छन्, त्यति मात्र होइन, उनीहरू पनि काठमाडौंको पशुपतिनाथमा गएर दान गर्छन् ।’

पत्नीलाई अति नै प्रेम गर्ने परमेश्वर उनको निधनपछि सबै दान पत्नीकै नाम सोचेर गरिरहेका छन् । ‘दान गर्दा धर्म, जात, समुदाय हेर्दिनँ । मुसहर, चमार, डोमदेखि मुस्लिम धर्मका विपन्न परिवारलाई समेत खाद्यान्नदेखि आँखा अपरेसन गराउने लगायतका काम गर्दै आएको छु,’ उनले भने, ‘जति दिनसम्म बाँच्छु दान गर्दै रहने छु, यति मात्र चाहना छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्