१३ असार २०८३, शनिबार

सिरहामा पहिलो संक्रमित : साउदीबाट फर्केर ६६ दिनसम्म गाउँघरमा घुलमिल भएपछि कोरोना पुष्टि

जेठ ३, २०७७
सिरहामा पहिलो संक्रमित : साउदीबाट फर्केर ६६ दिनसम्म गाउँघरमा घुलमिल भएपछि कोरोना पुष्टि
प्रतिकात्मक तस्वीर

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो जिल्लामा पहिलो संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै सिरहामा संक्रमणको पुष्टि गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीबकुमार झाका अनुसार संक्रमित व्यक्ति गत फागुन २८ गते साउदी अरबबाट फर्किएको अनुसन्धानबाट खुल्न आएको छ । यसअघी संक्रमितले आफू मलेसियाबाट आएको बताएका थिए ।

कोरोना पुष्टि हुनुभन्दा ५ दिनअघि वैशाख २९ गते सिरहाको भगवानपुर गाउँपालिकामा उनको स्वाब संकलन गरिएको थियो ।

उनी साउदी अरबबाट घर फर्किएको ६६ दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ‘साउदीबाट धेरै दिनअघि नै घर फर्किएका कारण उनलाई क्वारेन्टाइनमा राखिएको थिएन,’ प्रशासकीय अधिकृत झाले भने, ‘उनी विदेशबाट फर्किएपछि गाउँघरमा घुमफिर गरिरहेका थिए, सयौं मानिससँग भेटघाट गरेका छन् ।’

उनी साउदी अरबबाट नै संक्रमित भएर आए वा गाउँमा संक्रमित भए भन्ने कुरा यकिन हुन सकेको छैन । कोरोनाको नतिजा पोजेटिभ आउँदा समेत उनी गाउँघरमा परिवारसँग बस्दै आएका थिए ।

उनको घर पूरा रूपमा शील गरिएको छ भने सिरहाको धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालमा राखेर उनको उपचार भइरहेको समेत झाले जानकारी दिए । 

*यसअघि उनी मलेसियाबाट फर्किएको समाचारमा उल्लेख गरिएको थियो । तर उनी साउदीबाट आएको खुल्न आएकाले मलेसियाको ठाउँमा साउदी अरब राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्