२८ जेठ २०८३, बिहीबार

पेन्टागनको प्रतिवेदन भन्छ– प्रशान्त महासागरमा चीनले अमेरिकालाई युद्धमा हराउँछ

जेठ ४, २०७७
पेन्टागनको प्रतिवेदन भन्छ– प्रशान्त महासागरमा चीनले अमेरिकालाई युद्धमा हराउँछ

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका स्रोतहरूले प्रशान्त महासागरमा चीनसँग युद्ध भएमा अमेरिकाले हार्ने, ताइवानमाथिको आक्रमणको प्रतिरक्षा गर्न नसक्ने र गुआम सैन्य अड्डामा पनि खतरामा रहेको जानकारी दिएको छ । 

पेन्टागन स्रोतहरूका अनुसार, चीनले गर्ने आक्रमणको जोखिममा अमेरिका रहेको र कुनै पनि आक्रमणले अमेरिकालाई ठूलो आर्थिक क्षति हुने देखिएको छ । 

पेन्टागनको २०२० चाइना मिलिटरी पावर प्रतिवेदनमा यो चिन्ताजनक विश्लेषण समावेश गरिने अपेक्षा छ । 

कोरोनाभाइरस महाव्याधिको व्यवस्थापनका विषयमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको कडा आलोचना गरेपछि दुई देशबीचको तनाव उच्च तहमा पुगेको छ । 

द टाइम्स पत्रिकासँग कुरा गर्दै रक्षा स्रोतहरूले चीनसँग भएका अट्याक सबमरिन, एयरक्राफ्ट क्यारियर्स र डिस्ट्रोयर्सले अमेरिकाको हतियारलाई निस्तेज तुल्याउने देखिएको बताए । 

हिन्द–प्रशान्त कमान्ड क्षेत्रमा रहेका अमेरिकाका सबै अड्डाहरू आक्रमणको जोखिममा छन् किनकि चीनले मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति बढाएको छ । 

अमेरिकाको तीनवटा सैन्य अड्डा रहेको गुआम चाहिँ बढी नै जोखिममा रहेको देखिएको छ । 

‘चीनसँग लामो दूरीको एन्टी–शिप ब्यालिस्टिक क्षेप्यास्त्रहरू र हाइपरसोनिक क्षेप्यास्त्रहरू छ,’ एक अमेरिकी रक्षा स्रोतले द टाइम्सलाई बताए । 

अमेरिकाका चीनविशेषज्ञहरूले पनि यस्तै किसिमका चेतावनी दिएका छन् । 

वाशिङटनमा रहेको सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको चाइना पावर प्रोजेक्टका निर्देशक बोन्नी ग्लेजरले द टाइम्सलाई बताएअनुसार, दुई देशबीच ताइवान अत्यन्तै संवेदनशील विषय हो र तनाव बढ्दै गएमा आणविक युद्धको स्थिति आउन सक्छ । 

दुई महाशक्तिबीचको राजनीतिक खिचातानीमा ताइवान फस्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्