
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको रकम कटाउने भने पनि अहिले आएर अलिकति मात्र दिने योजना बनाएको ह्वाइट हाउसबाट लीक गरिएको एक पत्रबाट जानकारी पाइएको छ ।
अप्रिल महिनामा ट्रम्पले संगठनलाई दिइँदै आएको सबै रकम कटौती गरेका थिए । संगठनको वार्षिक बजेटको आधा जति रकम अमेरिकाले उपलब्ध गराउँथ्यो । कोरोनाभाइरस कुव्यवस्थापन गरेको र संक्रमण फैलिने विषयलाई ढाकछोप गरेको आरोप संगठनमाथि उनले लगाएका थिए ।
ट्रम्पले संगठनको आलोचना गर्न भने छोडेका छैनन् । अघिल्लो साता टाउन हल भेलामा उनले भने, ‘विश्व स्वास्थ्य संगठन ध्वस्त भइसकेको छ । उनीहरूले भनेका कुरा सबै गलत छन् र उनीहरू चीनकेन्द्रित छन् ।’
तर अहिले ह्वाइट हाउसले संगठनलाई चीनले उपलब्ध गराउने जति मात्र रकम दिने योजना बनाएको फक्स न्युजका टकर कार्लसनले समाचार बनाए ।
पहिला अमेरिकाले वर्षको लगभग ४० करोड डलर विश्व स्वास्थ्य संगठनलाई पठाउने गरेको थियो । चीनले त्यसको दश गुणा कम रकम दिने गरेको छ ।
‘यसका अनेकौं कमीकमजोरी भए पनि विश्व स्वास्थ्य संगठनसँग प्रबल सम्भाव्यता छ र यो वैश्विक संकटका बेलामा म संगठनले सम्भाव्यता अनुसारको काम गरोस् भन्ने चाहन्छु,’ खेस्रा पत्रमा लेखिएको छ ।
‘त्यसैले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले साझेदारी तथा सहकार्य गर्ने निर्णय मैले लिएको छु । चीन पूरै विश्वप्रति ऋणी छ र उसले विश्व स्वास्थ्य संगठनलाई उचित रकम दिन थाल्नुपर्छ,’ पत्रमा लेखिएको छ ।
‘चीनले संगठनलाई दिने रकम बढाएमा हामी पनि बढेकै जति रकम दिनेछौं,’ पत्रमा उल्लेखित छ ।