
भारत र चीनको सीमा अर्थात् वास्तविक नियन्त्रण रेखामा तनाव बढेको अर्को खबर सार्वजनिक भएको छ ।
भारतको हिमाचल प्रदेशको लाहौल स्पीति जिल्लाको कौरिक क्षेत्रमा चिनियाँ हेलिकप्टरले भारतीय वायुसीमा उल्लंघन गरेको आरोप भारतले लगाएको छ । अघिल्लो साता चिनियाँ हेलिकप्टर भारतीय सीमाभित्र आएको र केही समयमा फर्किएको बताइएको छ ।
कौरिक सीमाक्षेत्रको अन्तिम गाउँ हो र चिनियाँ सेनाले पहिले पनि त्यहाँ विभिन्न गतिविधिहरू गरेको थियो । सन् २०१७ को अगस्ट महिनामा भारत र चीन दोक्लममा आमनेसामने हुँदा पनि कौरिकमा चिनियाँ सेनाको क्रियाकलाप देखिएको थियो । त्यतिखेर चिनियाँ सेनाले नियन्त्रण रेखा नजिक निर्माण कार्य अघि बढाएको बताएका थिए ।
चीनले आफ्नो सेनाको शक्ति बढाउनका लागि सीमाक्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ ।
हिमाचल प्रदेशको कौरिक र किनौरको शिपकी लामा चीनले दाबी गरिरहेको छ । त्यस क्षेत्रमा भारत–तिब्बत सीमा प्रहरीको तैनाथी छ तर केही वर्षयता भारतीय सेनाले पनि उपस्थिति बढाएको छ ।
मे महिनामै भारत र चीनबीच लद्दाख तथा सिक्किममा भिडन्त तथा ढुंगा हानाहान भइसकेको छ ।