
कोरोनाभाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
गत सालको चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार छैठौंपटक थपिएको हो ।
पछिल्लो पटक जेठ ५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै आइतवार बसेको मन्त्रिपरिषद् बैठकले २० गतेसम्म पुर्याएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लक-डाउन थप गर्ने सुझाव दिएको थियो ।
सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्म, वैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म र वैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।
कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।