
भारत र चीनबीच ५८ वर्षअघि जुन ठाउँमा युद्ध भएको थियो, अहिले त्यहाँ फेरि तनावको स्थिति आएको छ ।
लद्दाखमा नदी किनारमा टेन्ट गाडेर बसेको विषयमा दुई देशबीच गम्भीर तनाव छ । चिनियाँ मिडियाले भारतमाथि अवैध घुसपैठको आरोप लगाउँदै चिनियाँ सीमाभित्र आएर उसले सैन्य सामग्री राखेको बताएको छ ।
अनि भारतीय सेनाले चाहिँ चीनका सैनिकहरू उक्त इलाकामा टेन्ट गाडेर उत्तेजक गतिविधि गरिरहेको आरोप लगाएको छ ।
गालवान नदीको किनारमा यसरी विवाद उठेको हो । सन् १९६२ को युद्धमा यस क्षेत्रमा पनि भिडन्त भएको थियो । विवादित क्षेत्रमा टेन्ट गाड्ने रणनीति चीनको जनमुक्ति सेनाले लामै समयदेखि अपनाउँदै आएको छ ।
मे महिनाको ५ र ६ तारिखमा चिनियाँ सैनिकहरू लद्दाखको पेंगोङ त्सो ताल नजिक भारतीय सैनिकहरूसँग भिडेका थिए । त्यस घटनापछि भारत र चीनको सीमाक्षेत्रमा निगरानी बढाइएको छ र जवानहरूको संख्यामा पनि वृद्धि गरिएको छ ।
गालवान उपत्यका जस्तै गरी सन् २०१८ मा चिनियाँ सैनिकहरूले सिन्धु नदीको किनारामा रहेको डेमचोक सेक्टरभित्र लगभग ३०० मिटरको दूरीमा टेन्ट गाडेका थिए । अनि भारतीय सैनिकहरू पनि अघि बढेकाले भिडन्तको स्थिति आएको हो ।
भारत र चीनबीच ३ हजार ८ सय ४४ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा छ । त्यसका विभिन्न भागमा चीन र भारतका सेनाबीच विवाद हुने गरेको छ ।