
उपत्यकामा ५ जनासहित थप २७ जनामा कोरोना संक्रमण
नेपालमा थप २७ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
नयाँ संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला छन् ।
जिल्लागतरूपमा झापामा ९, कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, ललितपुरमा १, भक्तपुरमा १, मोरङमा १, सुनसरीमा १, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १, नवलपरासीमा १ र लमजुङमा १ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यससँगै कुल ४ सय २ पुगेको छ । नयाँ भेटिएका संक्रमितहरू १७ देखि ४२ वर्ष उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ ।
मुलुकभर हालसम्म पुरुष ३ सय ४० जना र महिला ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नयाँ नक्साबारे संसद्मा ओली: संविधानको अनुसूची ३ संसद्ले पारित गरेको दिन देशमा दिपावली हुनेछ
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालले फिर्ता लिएरै छाड्ने अठोट साथ सरकारले नयाँ नक्सा जारी गरेको बताएका छन् ।
नयाँ नक्सा पारित भएपछि अब सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउने र त्यो पारित हुने ओलीले विश्वास गरे ।
‘कुनै चलाखी या तथाकथित राष्टवाद देखाउनको लागि यो गरिएको थिएन । अहिलेको सरकारको तर्फबाट भन्न चाहन्छु, कुनै तमासा गरिएको होइन, यथार्थमा फिर्ता लिन गरिएको हो, हामी फिर्ता लिन्छौं । यसबाट सिंगो राष्ट्र खुशी हुने विश्वास गर्दछु,’ सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलवार संसद्मा जवाफ दिँदै ओलीले भने, ‘यस सदनमा संविधानको अनुसूची ३ प्रतिक चिह्न संशोधन गर्न संविधान संशोधनको त्यो एउटा बुँदा प्रस्तुत गरिने छ । अरू विषयको सम्बन्धमा भोल फेरि छलफल गर्न सक्छौं । सबै विषयभन्दा बढी तत्कालीन महत्त्वको, वार्तासँग नक्सासँग सम्बन्धित भएकाले संविधान संशोधनको प्रस्ताव यहाँ आउने छ र त्यो पािरत हुन्छ र हाम्रातर्फको तयारी हाम्रो बाटो यो हो भनेर जाने कुरा पूरा हुन्छ । म ठान्छु, संविधानको अनुचूची ३ त्यो संसद्ले पारित गरेका दिन देशमा दिपावली हुनेछ, राष्ट्रियताको पक्षमा, मैले त्यो विश्वस लिएको छु ।’
नेपालको भूमि फिर्ता ल्याउने विषय कुनै अर्घेल्याइँको विषय नभएकाले कोही रिसाउन आवश्यक नभएको बताए ।
‘हामीले नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट हिजो प्रकाशित गरेका छौं, लिम्पयाधुरा, लिपुलेक कालापानीसहित हाम्रो भूभाग हो । २०१८ सालसम्म त्यहाँ जनगणना गर्ने तिरो उठाउने काम भइरहेको थियो । त्यसपछि तिरो उठाउन जान नदिने काम भए । १९६२ सन्मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपश्चिम जान हामीलाई ब्लक गरियो । त्यस बेलाका शासकले यसलाई छायाँमा पारे । वर्तमान सरकारका तर्फबाट प्रधानमन्त्रीबाट लिम्पियाधुरा कालापानी सेलाउन दिइने छैन, निष्कर्ष निकालिन्छ , फिर्ता लिएर निकालान्छौं । हाम्रो भूमि अतिक्रमण भएको हो, त्यो कुनै विवादित क्षेत्र होइन । हामीेले अर्घेल्याइँ गरेको भए पो कोही रिसाउने छ । कूटनीतिक वार्ता गरेर यो भूभाग फिर्ता ल्याइने छ, यही अठोटका साथ नीति तथा कार्यक्रममा । त्यसलाई प्राप्त गर्न ठोस रूपमा कूटनीतिक प्रयास गर्नेछौं र त्यो भूभाग सामेल नरेर नेपालको नयाँ नक्सा तयार गर्नेछौं भनेर नीति तथा कार्यक्रममा आएको थियो ।’
सरकारले हिजो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गरेको थियो ।
प्रतिनिध सभाबाट बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम
आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।
जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्का दुवै सदनमा पेश नीति तथा कार्यक्रम मंगलवार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।
संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।