
भूमि व्यवस्था मन्त्रालयले बुधवार जारी गरेको नेपालको अद्यावधिक नक्सामा प्रतिक्रिया दिँदै भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले कृत्रिम रूपमा भारतीय भूमिको दाबी गरेको आरोप लगाएका छन् ।
भारतको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया नेपालले नयाँ नक्सा सार्वजनिक गरेको केही घण्टामा आएको हो ।
श्रीवास्तवले भने, ‘नेपालको नयाँ नक्सामा भारतीय भूमि समेटिएको छ । यो एकपक्षीय छ र यो ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन ।’
‘कृत्रिम दाबीका आधारमा बनाइएको नक्सा भारतले स्वीकार्न सक्दैन,’ उनको भनाइ उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘सीमामा देखिएका समस्याहरू समाधान गर्न कूटनीतिक वार्ताका आधारमा द्वीपक्षीय समझदारी चाहिन्छ ।’
उनले नेपालले यस्ता विषयमा भारतको पोजिसन बुझेको भन्दै नेपाललाई भारतको अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरे । ‘मलाई आशा छ नेपालले सीमा समस्या हल गर्न वार्ताका माध्यमबाट सकारात्मक वातावरण बनाउनेछ ।’