
चीनमा विंगसुट लगाएर उडिरहेको हेलिकप्टरबाट हाम्फालेकी महिलाको मृत्यु भएको छ । स्टन्ट गर्ने क्रममा उनी ८ हजार २०२ फीटमाथिबाट हाम्फालेकी थिइन् ।
उनको क्यामराम्यानले बेस्सरी हात हल्लाएर उनलाई सही दिशाबाट भट्कियौ भनी बताउन खोजेको भिडियोमा देखिन्छ ।
बेइजिङबाट दक्षिणी चीनको तियानमेन राष्ट्रिय निकुञ्ज पुगेकी ती महिलाको मृत शरीर घना जंगलमा फेला परेको छ । उनी सात दिनपछि सोमवार त्यहाँ फेला परेकी हुन् ।
उनी रुखहरूमा बजारिएको र उनको प्यारासुट नखुलेको विश्वास गरिएको छ ।
उनी र क्यामराम्यान २५ सय मिटर उचाइबाट मे १२ मा बिहान ११ बजेतिर हाम्फालेका थिए ।
निश्चित रूटबाट भट्किएर रुखहरू भएको ठाउँतिर उनी जान थालेपछि उनका साथीले हात हल्लाएको देखिन्छ ।
क्यामराम्यानले उनलाई प्यारासुट खोल्नका लागि संकेत गरेको तर उनी तय गरिएको बाटोबाट भट्किएर अलप भएको बताइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार, हेलिकप्टर, ड्रोन र व्यापक खोजी टोलीलाई ती महिला खोज्नका लागि पहाडहरूमा पठाइएको थियो ।
स्थानीय गाउँलेहरूले उनको शरीर घना जंगलमा फेला पारेका हुन् ।
उनी महिलाको एक्सट्रिम स्पोर्ट्ससम्बन्धी सानो वृत्तचित्रमा भाग लिइरहेको बेलामा हराएकी थिइन् ।
अधिकारीहरूका अनुसार, दुर्घटनाको समयमा उनले जीपीएस सहितको सामग्री बोकेकी थिइनन् ।
अधिकारीहरूले के भएको थियो भन्ने थाहा पाउन उनको हेल्मेटमा रहेको क्यामराको फूटेज अध्ययन गरिरहेका छन् ।