
कोभिड–१९ (कोरोना भाइरस) बाट मृत्यु भएका गुल्मीका शिक्षकको मृत्यु भएको २५ घण्टा बितिसक्दा समेत शव उठ्न सकेको छैन । परिवारले शव व्यवस्थान गर्न सुरक्षा निकायलाई अनुमति दिन नमान्दा मृतकको शव रूपन्देहीको तिलोत्तमाको क्रिमसन अस्पतालको आइसियुमै छ ।
गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिया शिक्षकको उपचारको क्रममा बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । मृतकको परिवारले बिरामीमा कोरोना देखिएपछि उपचार नपाएर मृत्यु हुन पुगेको आरोप लगाएको छ ।
मृतका भाइ मिनबहादुर कुँवरले अस्पताल र चिकित्सकको लापरवाहीले दाजुको मृत्यु भएको आरोप लगाए । ‘कोरोना पुष्टि भएपछि बिरामी राखिएको भेन्टिलेटर बन्द गरियो । चिकित्सक नैं भित्र गएनन् । जसले गर्दा बिरामीको मृत्यु भयो । यसको निष्पक्ष छानविन र पीडितलाई न्याय दिने सहमति नहुदासम्म शव व्यवस्थापनका लागि अनुमति दिन सकिँदैन,’ कुँवरले भने ।
कुँवरले थपे, ‘बिरामी कसैको कोरोना संक्रमितको सम्पर्कमा गएकै छैन । कसरी कोरोना देखियो । अचम्ममा परियो । स्वाव फेरबदल भयो कि भन्ने आशंका पनि हाम्रो छ । अस्पतालबाट बिरामीको सम्पर्कमा रहेका २९ जनाको स्वाव संकलन गरेर लगिएको छ । जसमध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अन्यको १० जनाको रिर्पोट नआउँदासम्म शव उठाउन सकिँदैन ।’
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले परिवारले शव बुझ्न नमान्दा ढिलाई भएको बताए । ‘हामी परिवार, अस्पताल सँग छलफलकै क्रममा छौं । सुरूमा परिवारले शव बुझ्नुपर्यो । त्यसपछि बल्ल हामीले ‘डेथबडी’ लाई हामीले लगेर व्यवस्थान गर्ने हो,’ उनले भने ।
यस्तै प्रहरी प्रमुख हेमकुमार थापाले परिवारका कारण शव उठ्न नसकेको बताए । अस्पतालमा शव एम्बुलेन्स पुगिसकेको छ ।
अस्पतालका सञ्चालक सुरज भट्टराईले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् । उनले चिकित्सक विरामीको अन्तिम अवस्थासम्म पनि उपचारमा खिटिएको दावी गरे । ‘अहिले आएर शवलाई र्यापिड गरेर तल एम्बुलेन्समा अस्पतालले ल्याउनुपर्छ भनेको छ । त्यो सम्भव छैन । सरकारले नै तयार गरेको फोर्सले ल्याउनुपर्यो । अस्पतालले शवलाई भवनको तल झार्न सक्दैन,’ भट्टराईले भने ।