पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर बन्दै गएको वैज्ञानिकहरूले खुलासा गरेका छन् । पृथ्वीको जीवनका लागि चुम्बकीय क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ ।
चुम्बकीय क्षेत्रका कारण पृथ्वीले अन्तरिक्षबाट आउने विकिरण र सूर्यबाट निस्कने आवेशित कण (चार्ज्ड पार्टिकल्स) बाट प्राणीहरूलाई बचाउँछ । तर त्यही सुरक्षा कवचका रूपमा रहेको चुम्बकीय क्षेत्र कमजोर बनेको छ ।
अफ्रिका र दक्षिण अमेरिकाको बीचमा रहेको ठूलो क्षेत्रफलमा पृथ्वीको चुम्बकीय क्षेत्रको तीव्रता घटेको हो । यसलाई दक्षिण आन्ध्र विषमता भनिएको छ । पाँच् वर्षअघिदेखि कम तीव्रताको यो क्षेत्र विकसित भएको हो ।
पृथ्वी अहिले ध्रुवहरूमा परिवर्तनको कालमा छ । यसअन्तर्गत उत्तरी ध्रुव र दक्षिणी ध्रुवले एकअर्काको स्थान लिन्छन् ।
दक्षिणी आन्ध्र विषमताका कारण उपग्रह र उक्त स्थान हुँदै माथि जाने अन्तरिक्षयानहरूले प्राविधि गडबडी सामना गर्नुपरेको छ ।
यस संकटको खुलासा युरोपेली अन्तरिक्ष नियोगले गरेको हो ।
पृथ्वीको चुम्बकीय क्षेत्र जीवनको रक्षाकवच जस्तै हो । भूगर्भशास्त्रीहरूका अनुसार, यस चुम्बकीय क्षेत्रको उत्पत्ति पृथ्वीको बाहिरी पत्रमा बगिरहेका विद्युत् धाराका कारण भएको हो ।
पृथ्वीको चुम्बकीय शक्ति भीमकाय चुम्बक जस्तै भएको मानिन्छ । भौगोलिक उत्तर तथा दक्षिण ध्रुवबाहेक पृथ्वीमा उत्तर र दक्षिण चुम्बकीय ध्रुव पनि छन् ।
यस क्षेत्रले पृथ्वीमा आउने सूर्यको आवेशित कणहरूलाई मोडिदिन्छ । चुम्बकीय क्षेत्र नहुने हो भने उक्त कणहरू ओजोन तहलाई छेडेर पृथ्वीमा आइपुग्छन् र परावैजनी किरणको खतरा बढ्छ ।
एजेन्सी