भारतको दिल्लीमा हजारौं झोलाहरू कडा घाममा लहरै राखिएका छन् । ती मजदूरका झोला हुन् ।
मजदूरहरू निरीह छन् । आफ्ना आँसु र पीडा यी झोलाहरूमा भरेर उनीहरू छायाँका लागि भवनको खोजीमा भौंतारिइरहेका छन् ।
केही क्षणका लागि आफ्नो घाइते आत्मा र दर्फर्याएको काँधलाई आराम दिँदै उनीहरू कडा घामबाट जोगिन प्रयास गरिरहेका छन् । मजदूरहरू फरक फरक ठाउँबाट वेस्ट विनोद नगर पुगेका हुन् । त्यहाँ गाउँ जाने मजदूरहरूको स्वास्थ्य परीक्षण गरिँदैछ ।
एक प्रहरी अधिकारी सोध्छन्– यति धेरै झोला कहाँ जान्छन् ? एक मजदूर भन्छन्– साब, यी झोलाहरू गाउँ जान चाहन्छन् ।
यी झोलाहरू आफ्ना मालिकसँग बिहान ४ बजे यहाँ आइपुगेका हुन् । दिउँसो ३ बजेसम्म यिनीहरू गाउँ जान कुरिरहेका छन् ।
यी झोलाहरू यस शताब्दीको सबभन्दा भयानक पलायनका साक्षी हुन् । झोलाका मालिकहरूका लागि पाइला पाइलामा दुःखका तीखा कीलाहरू छरिएका छन् । यी तिनै झोला हुन् जो गाउँबाट शहरमा आफ्ना प्रदेशको खानेकुराको
सुगन्ध लिएर आउँछन् । यी तिनै झोला हुन् जो शहरबाट गाउँ पुग्दा बच्चाहरूका लागि चकलेट र खेलौना बोक्छन् ।
यी तिनै झोला हुन् जसले मजदूरकी आमा, बहिनी र पत्नीका लागि सपना बोकेका छन् । तर कडा घाममा सेकिएका यी झोलाहरू यसपटक भने मजदूरका मैला कपडा र शहरले दिएको पीडाको कथा बोकेर जाँदैछन् । यीमध्ये केही झोला यस्ता पनि छन् जसले अब गाउँबाट कहिले पनि नफर्किने संकल्प लिएका छन् ।