२२ जेठ २०८३, शुक्रबार

नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमाझ पठाउने तयारी

जेठ १०, २०७७
नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमाझ पठाउने तयारी

 नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया शुरू गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया शुरू गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालका अनुसार सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि अनुसार काली नदी र सोभन्दा पूर्वको भू–भाग नेपाल राज्यको अभिन्न अङ्ग रहेको छ । काली नदी पूर्वका गुन्जी, नाभी, कुटीलगायतका बस्ती रहेका भू–भागसमेत देशको सिमानाभित्र पर्ने छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले सबै प्रक्रिया पुगेपछि अन्तर्राष्ट्रिय जगत्मा नक्सा पुग्ने बताए । हाल त्यसबारेमा निर्णय भई नसकेको उनको भनाइ छ ।

अद्यावधिक नक्सा छिट्टै वेब भर्सन र हार्डकपी दुवैथरि प्रकाशनमा ल्याउन तयारी गरिरहेको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

उनले यससँगै नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तक तथा अन्तर्राष्ट्रिय साझेदार निकायमा नयाँ संस्करणबमोजिमका नक्सा प्रयोगमा ल्याउन थप पहल हुने बताए । महानिर्देशक जोशीले भन्नुभयो, “एक्सन प्लान बनाएर नक्सा प्रिन्टलाई अगाडि बढाएका छौँ, जसका लागि प्लेटहरू धमाधम बनिरहेका छन्, नक्सा बाहिर छाप्न दिन नमिल्ने भएकाले हामी आफैँ प्रिन्ट गर्छौं । ” नक्सा विभागको आफ्नै छापाखानामा नक्सा छापिँदैछ ।

नक्सा छापिने प्रक्रिया शुरू भएसँगै स्वदेश र अन्तर्राष्ट्रिय समुदायलाई कहाँ–कहाँ पठाउने भन्नेबारेमा समेत मन्त्रालयले तयारी गरेर सूचीसमेत तय गर्दैछ । त्यसका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरेर काम भइरहेको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्