१७ असार २०८३, बुधबार

३६७औँ हप्तामा वाग्मती सफाइ महाभियान

३६७औँ हप्तामा वाग्मती सफाइ महाभियान

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको दुई महिना पूरा भई राजधानीमा कोभिड–१९ का सङ्क्रमित बढ्दै जाँदा उपत्यकामा सफाइ अभियान भने जारी छ । 

वाग्मतीका तीन स्थान गुह्येश्वरीमाथि, पशुपति क्षेत्र र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३६७औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले एक्लै सफाइ गरे । 
 
शङ्खमूल क्षेत्रको वाग्मती मनोहरा दोभानमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ अभियान चलेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । वाग्मती सफाइ महाअभियान यही जेठ ५ गतेदेखि आठौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प, कोरोनाको विश्वव्यापी महामारीमा पनि जारी छ । 
 
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा चैत १५ गते आज भने अभियानकर्मी नदीमा पुग्न नसकेको जनाइएको छ । त्यस दिन सबै अभियानकर्मीले आआफ्नो टोल सफाइ गरेका थिए । त्यसपछिका आजदेखि भने नदीको नजिक घर भएका अभियानकर्मीले सफाइलाई निरन्तरता दिँदै आएका छन् । 
 
माथिल्लो वाग्मती सफाइ अभियान भनिने गुह्येश्वरीमाथि ३२७औँ हप्ताको सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा भइरहेको यस क्षेत्रको सफाइ पनि बन्दाबन्दीकाबीच साङ्केतिकरुपमा सम्पन्न गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।
 
यसैगरी मनोहरा नदी सफाइ अभियानको १६६औँ हप्ता चन्द्र दङ्गालको नेतृत्वमा नदी किनारको गुप्तेश्वर महादेव मन्दिर क्षेत्रमा गरिएको छ । बेबी राजभण्डारीको संयोजनमा ललितपुरको गोदावरी खोला सफाइ गरिएको छ । सबैतिरको सफाइ अभियान सरकारले बन्दाबन्दीका क्रममा जारी गरेको आचारसंहिताबमोजिम सामाजिक दूरी कायम गरी गरिएको जनाइएको छ ।
 
नदी किनार नजिकै घर हुने अभियानकर्मी नदीमै गएर सफाइ गरेको अभियानकर्मी शाहीले बताउनुभयो । निवास नदीभन्दा टाढा हुने अभियानकर्मीले भने आआफ्नो टोल सफाइ गर्नुभएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्