१४ असार २०८३, आइतबार

सुरक्षा निकायमा उच्च सतर्कता

जेठ ११, २०७७
सुरक्षा निकायमा उच्च सतर्कता

कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् ।

नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय अनुसन्धान विभागका एक गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शान्तिसुरक्षा तथा नागरिक सेवासँगै कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी र कार्यालयमा सङ्क्रमण देखिन थालेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले कोरोना नियन्त्रणका लागि काममा खटिँदा सर्वसाधारणबाट नै सुरक्षाकर्मीमा कोरोना सरेको जानकारी आएको बताउनुुभयो । सङ्क्रमणबाट जोगिन सम्पूर्ण सैनिक युनिटमा थप सतर्कता अपनाउन आवश्यक निर्देशन र सोही अनुुरूपको सतर्कता अवलम्बन गर्न थालिएको उनले बताए।

नेपाल सरकारबाट जारी रणनीति र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्डअनुसार कमान्डरदेखि सिपाहीसम्मले कोरोनाबाट जोगिन के कस्ता सतर्कता अपनाउने, सैनिक ब्यारेकबाहिर रहँदा वा प्रवेश गर्दा स्वास्थ्य परीक्षण, सतर्कता र सरसफाइमा विशेष जोड दिइएको छ ।

सुरक्षा गस्तीदेखि भान्सामा खाना खाँदा सानो समूह बनाई सामाजिक दूरी राख्ने, सङ्क्रमण लाग्ने सम्भावनादेखि सङ्क्रमण लागिसकेपछि अपनाइने सतर्कता, उद्धार तथा उपचार र सर्वसाधारणको मनोबल उच्च राख्न अभ्यास प्रदर्शन गर्ने गरिएको जानकारी उनले दिए।

कोरोना सङ्क्रमित प्रदेश २ का पृतनापति उपरथी र सिपाहीमा एक औपचारिक कार्यक्रमबाट कोरोना सरेको सेनाले गरेको ‘सङ्क्रमण टे«ेसिङ’बाट फेला परेको छ । उनले प्रत्येक सैनिक कार्यालयमा क्वारेन्टाइन र आइसोलेसन वार्डसँगै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको थप जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्