
सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि सांसदहरूले लगाउने प्रतीक चिह्न (लोगो) परिमार्जन हुने भएको छ ।
आइतवार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो (प्रतीक) र राष्ट्रिय सभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो ।
संघीय संसद्को लोगोमा रहेको नक्सा सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्ने निर्णय भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । सांसदले शपथ गरेको दिन उनीहरूलाई संसद्को लोगो दिइने प्रचलन छ ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
आइतवार नै प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि लोगो परिवर्तन गर्नेबारे छलफल चलिरहेको छ ।
यसैबीच, जेठ १२ गतेका लागि तोकिएको राष्ट्रिय सभा बैठक सो दिन मुस्लिम समुदायको महान पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले १२ गतेको बैठक १३ गते ११ बजेका लागि तोक्ने निर्णय पनि भएको छ ।