
गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा कसरी उपचार गर्नेे भनेर तालिम दिन शुरू गरिएको छ ।
सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सञ्चालन गरिएको सो तालिममा जिल्ला अस्पताल, लेखनाथ लायन्स अस्पताल र मातृशिशु मेमोरियल अस्पतालका ६३ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
कोभिड–१९ को संक्रमण देखिएका सम्भावित जटिल अवस्थाका बिरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले अहिलेदखि नै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न तालिम दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । सहभागीलाई विभिन्न समूह बनाएर सामाजिक दूरी कायम गरी व्यवस्थापन तालिम दिएको उनले बताए ।
कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले गम्भीर र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीको टोलीले नै आईसीयूमा कसरी उपचार व्यवस्थापन गर्ने भन्नेबारे विशेषज्ञ चिकित्सकले जानकारी गराउने उनको भनाइ छ ।
‘सामान्य केस म्यानेज भइहाल्छ तर केस जटिल भएमा क्रिटिकल केयरमा लाग्नुअघि कसरी हस्पिटलको टिमले म्यानेज गर्ने भनेर तालिम दिन लागेका हौं,’ निर्देशक शर्माले भने, ‘जटिल बिरामी हुँदासाथ १ जना व्यक्तिले कसरी हेर्ने, समग्र टिमले कसरी म्यानेज गर्ने र आईसीयू व्यवस्थापन र यहाँको इस्युहरू के–के हुन्छन् भनेर सिकाइनेछ ।’
आइतवारदेखि शुरू तालिममा प्रत्येक जिल्लाबाट २ मेडिकल अफिसर, २ नर्सिङ र १ जना पारामेडिकलका स्वास्थ्यकर्मीलाई सघन उपचार कक्ष व्यवस्थापनसम्बन्धी ज्ञान दिइनेछ । गण्डकी प्रदेश सरकारले यसअघि नै सबै जिल्ला अस्पतालमा आईसीयू कक्ष निर्माण गर्ने निर्णय गरेको र कोभिड–१९ संक्रमित जटिल अवस्थाका बिरामीलाई जिल्लास्थित आईसीयू कक्षमा उपचार व्यवस्थाका लागि अहिलेबाट स्वास्थ्यकर्मीलाई तयार पार्न लागिएको निर्देशनालयले जनाएको छ ।
प्रदेश सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्लामा ४० वटा आईसीयू कक्ष स्थापना गर्ने गरी बजेट विनियोजन गरिसकेको छ । मनाङ र मुस्ताङमा २/२ तथा अन्य जिल्लामा ४/४ वटा कक्ष निर्माण गर्ने सरकारको योजना छ ।