
अमेरिकाको शिकागोमा आइतवार अबेर राति भएको गोलीकाण्डमा १० जना मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । उक्त राज्यमा लकडाउन लगाइएको भए पनि यस्तो घटना हुन गएको हो ।
एंगलवूड क्षेत्रमा ठूलो समूह भेला भएको भिडियो सार्वजनिक भएको छ । गोली चलेको आवाज सुनेपछि थुप्रै प्रहरीहरू त्यहाँ पुगेका थिए । दुई अधिकारीहरूलाई चोटपटक लागेको थियो ।
दुईजनालाई पक्राउ गरिएको छ ।
मेमोरियल डे वीकेन्डमा पोहोर साल पनि गोलीकाण्ड हुँदा सातजनाको मृत्यु भएको थियो ।
प्रहरीले यस्तो किसिमको हिंसा हुने आकलन गर्दै थप गश्ती गरेको भए पनि दुःखद घटना हुन पुग्यो ।
सोमवार बिहान सखारै एक महिलालाई वेस्ट पुलम्यानमा उभिरहेको बेलामा गोडामा गोली लागेको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
एक पुरुषलाई चाहिँ अनुहार, छाती र पेटमा गोली लागेपछि गम्भीर अवस्थामा रहेको बताइएको छ । सोमवार बिहान १ बजे एक अज्ञात चालकसँग विवाद भएपछि ती युवकमाथि गोली प्रहार गरिएको थियो ।