
कोरोना भाइरसको संक्रमणलाई कम गर्न सरकारले लकडाउन जारी गरेको लकडाउन अनिश्चितझै बनेका बेला एनआइसी एशिया बैंकले अनलाइन खाता खोल्न थप सहज बनाएको छ।
अब एनआइसीमा घरमै बसीबसी खाता खोल्न इमेल, नाम, मोबाइल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि दोस्रो चरण पूरा गर्न बैंकबाट इमेल प्राप्त हुनेछ।
दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरण अपलोड गर्न सक्नेछन्। ‘साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहेकाले इमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि इमेलमार्फत अनुरोध गर्न सक्नुहुनेछ,’ एनआइसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन्। तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ।
अब ग्राहकले खाता खोल्न चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाइटमा गई अनलाइन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने एनआइसीको दाबी छ।
यसरी अनलाईन खाता खोलेका ग्राहकले लकडाउन अवधीसम्म मोबाइल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा ५ सयसम्म नगद फिर्ता प्राप्त गर्ने पनि एनआइसीले जनाएको छ।
लकडाउनको अवधिमा ग्राहकले घरमै बसी आफूलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट÷क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरबाट खरिद गर्दा १० प्रतिशत वा ५ सयसम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।