
हङकङको विधायिकाले चिनियाँ राष्ट्रगानको अपमान गर्ने कामलाई अवैध ठहर्याउने विधेयक बिहीवार पारित गरेको छ ।
विपक्षी सांसदहरूले मतदान रोक्नका लागि गन्धे झोल भुइँमा फालेर अवरोध गरेको भए पनि विधेयक पारित भएको हो ।
विधेयकको पक्षमा ४१ सांसदको मत परेको छ भने एकजनाले मात्र विपक्षमा मत दिएका छन् । अधिकांश विपक्षी सांसदले विरोधस्वरूप मतदान बहिष्कार गरेका छन् ।
लोकतन्त्रवादी सांसदहरूले राष्ट्रगान विधेयकबाट अभिव्यक्ति स्वतन्त्रता हनन हुने र हङकङवासीले पाउँदै आएको बृहत्तर अधिकार पनि उल्लंघन हुने बताएका छन् ।
बेइजिङपक्षधर बहुमत सांसदहरू चाहिँ राष्ट्रगानको उचित सम्मानका लागि कानून आवश्यक रहेको बताउँछन् ।
मार्च अफ द भोलुन्टीयर्स चीनको राष्ट्रगान हो र यसलाई जानीजानी अपमान गर्नेलाई तीन वर्षसम्मको कारावास सजाय र ५० हजार हङकङ डलरसम्मको जरिवाना लगाइनेछ ।