०३ असार २०८३, बुधबार

विदेशबाट ल्याइएकालाई होल्डिङ सेन्टरमा राखिने, सात प्रदेशका सात ठाउँमा होल्डिङ सेन्टर

जेठ २३, २०७७
विदेशबाट ल्याइएकालाई होल्डिङ सेन्टरमा राखिने, सात प्रदेशका सात ठाउँमा होल्डिङ सेन्टर

हवाई उडानमार्फत नेपाल ल्याउन लागिएका नागरिकलाई केही समय राख्ने र चेकजाँच गर्ने प्रयोजनका लागि सरकारले प्रदेशअनुसार सात स्थानमा होल्डिङ सेन्टर बनाउने भएको छ । यसका लागि स्थान र पार्टी प्यालेससमेत छनोट भइसकेको छ । 

सरकारले काठमाडांैमा तीन प्रदेशबाट बिदेसिएका नागरिकलाई राख्न ललितपुर र भक्तपुरमा दुई–दुईवटा प्रदेशका नागरिकलाई होल्डिङ सेन्टर राख्ने तयारी गरेको हो ।   

काठमाडौंमा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का लागि होल्डिङ सेन्टर बन्नेछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथमा तीनवटा मुख्य र एउटा वैकल्पिक स्थान छनोट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार सुकेधारा, चप्पल कारखाना, धुम्बाराहीमा सेन्टर स्थापना गरिनेछ । बसुन्धारालाई भने वैकल्पिकमा राखिनेछ । 

दाहालका अनुसार सुकेधारास्थित मिराकल पार्टी प्यालेस, चप्पल कारखानास्थित कुण्डलिनी पार्टी प्यालेस र धुम्बाराहीस्थित स्काइप पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । बसुन्धारामा भने यती पार्टी प्यालेसलाई सेन्टर बनाइनेछ । प्रत्येक पार्टी प्यालेसमा एकपटकमा ४ सय नागरिक बस्न सक्नेछन् । 

विदेशबाट हवाई उडानमा आएका नागरिकलाई नेपाली सेना, ट्राफिक महाशाखा, यातायात व्यवस्था विभागको समन्वयमा होल्डिङ सेन्टरमा पु¥याइनेछ । सेन्टरमा नागरिकले पानी पिउने, शौच गर्ने र केही समय आराम पाउनेछन् । त्यस्तै, टेलिकमले नागरिकहरूलाई निःशुल्क सिमकार्डसमेत वितरण गर्नेछ । सेन्टरमा उनीहरूले आफ्नो विवरणसमेत भर्नेछन् । 

ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टर छनोट   

होल्डिङ सेन्टरका लागि ललितपुर जिल्लाले सात र भक्तपुर जिल्लाले दुईवटा पार्टी प्यालेसको छनोट गरेको छ । ललितपुर जिल्लाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि सेन्टर निर्माण गर्ने जिम्मा पाएको छ भने भक्तपुर जिल्लाले प्रदेश नम्बर १ र २ का नागरिकको जिम्मा पाएको छ । 

ललितपुरले पार्टी प्यालेसलाई सेन्टरका लागि छनोट गरिएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा ७ प्यार्टी प्यालेस छन् । आवश्यकताअनुसार पार्टी प्यालेसको प्रयोग गरिनेछ । प्रत्येक पार्टी प्यालेसको क्षमता ३ सयभन्दा बढी छ । 
त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आन्तरिक तयारी थालेको छ । कार्यालयले भक्तपुरस्थित हेरिटेज र इम्पेरियल पार्टी प्यालेसको छनोट गरेको छ । 

काठमाडौंका तीन स्थानमा क्वारेन्टाइन बनाइने

काठमाडांैका तीन स्थानमा क्वारेन्टाइन निर्माण गरिनेछ । विदेशबाट आएका नागरिकका लागि खरिपाटीको इचंगु आवास क्षेत्र, दहचोकस्थित मनमोहन अस्पताल र केएमसी दुवाकोट र बोडेमा क्यारेन्टाइन तयारी गरिने काठमाडौं प्रजिअ दाहालले जानकारी दिए ।

यसको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई अर्थ मन्त्रालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सहयोग गर्नेछ । क्वारेन्टाइन १० दिनभित्रमा तयार गरिनेछ ।   

क्वारेन्टाइनमा लजिस्टिक सपोर्ट (बेड, बिछ्यौना, भाँडाबर्तन, पानी, बिजुली, भान्साघर, शौचालय आदि)को तत्काल व्यवस्थापन गर्नुपर्नेछ । यसको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तहलाई सहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग गर्नेछन् । स्थानीय सरकारले पनि आवश्यकताअनुसार आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउनुपर्नेछ । स्थानीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र क्वारेन्टाइनमा रहँदाको खाना खर्चबापत प्रतिदिन प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले १४ दिनका लागि हुने खर्चबापत रकम अर्थ मन्त्रालयले उपलब्ध गराउनेछ । मन्त्रालयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले सहयोग गर्नेछन् । 

छिमेकी जिल्लालगायत भारतबाट आउनेका लागि दुईवटा क्वारेन्टाइन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्ला तथा भारतबाट नेपाल भित्रिने नागरिकका लागि दुई स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।

कार्यालयका अनुसार कीर्तिपुर र सामाखुसीस्थित राधा स्वामी सन्तव्यासलाई क्वारेन्टाइन बनाइएको छ । कीर्तिपुरस्थित सन्तव्यास २ सय क्षमताको छ । सामाखुसीको ४ सय क्षमताको छ । 

होटेलको सूची संकलन गरिँदै

विदेशबाट आएका शुल्क भुक्तानी गरी क्वारेन्टाइनमा बस्ने चाहने नागरिकका लागि होटेलको सूची संकलन भइरहेको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यसको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

प्रजिअ दाहालका अनुसार होटेल पायक पर्ने स्थान, सुरक्षा र मूल्यका आधारमा होटेल छनोट गर्ने गृहकार्य भइरहेको बताए । कार्यालयले नगरकोट, गोदावरीजस्ता क्षेत्रमा क्लस्टर बनाएर होटेल छनोट गर्नुपर्ने बताएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्