१३ असार २०८३, शनिबार

प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाखसम्म जरिवाना प्रस्ताव

जेठ २३, २०७७
प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाखसम्म जरिवाना प्रस्ताव

सरकारले प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाख रुपियाँसम्म जरिवाना गर्नेगरी प्रतिलिपि अधिकार ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ ।

पर्यटन मन्त्रालयका तर्फबाट विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो । प्रतिलिपि अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, वर्न महासन्धि, माराकेश सन्धि अनुसार आन्तरिक कानुनलाई परिमार्जन गर्न संशोधन विधेयक ल्याइएको हो । तीनमध्ये माराकेश सन्धि भने अहिले प्रतिनिधि सभामा नै विचाराधीन छ ।

सरकारले प्रस्तावित विधेयकमा हाल प्रतिलिपि अधिकार उल्लङ्घनमा हुने सजायलाई बढाएको छ । अहिले कायम रहेको २० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्मको सट्टा अब ४० हजार रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना गर्नेगरी संशोधन प्रस्ताव ल्याइएको छ । यस्तै अन्य कसुरमा हुने दस हजार रुपियाँदेखि एक लाख रुपियाँसम्मको जरिवानालाई २० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म पु¥याइएको छ ।

जरिवानासँगै प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई क्षतिपूर्ति भराउने अधिकार पनि मुद्दा हेर्ने अधिकारसँग हुनेछ । साथै, अधिकार दुरुपयोग गरी प्रकाशन भएका तथा पुनः उत्पादन गरिएका सामग्री पनि जफत हुनेछन् । प्रस्तावित विधेयकले कानुनी संरक्षण प्राप्त हुने रचनाहरू थप गरेको छ ।

संरक्षण प्राप्त नहुने
प्रस्तावित विधेयकले प्रतिलिपि संरक्षण नहुने विषयको दायरा पनि बढाएको छ । जसमा कुनै विचार, धर्म, समाचार, सञ्चालन विधि, अवधारणा, सिद्धान्त, अदालतको निर्णय, आदेश तथा फैसलालाई प्रतिलिपि अधिकार संरक्षण नहुने उल्लेख गरेको छ । यस्तै, कानुन बमोजिम दर्ता भएको पेटेन्टको स्पेसिफिकेसन, वा डिजाइन, पौराणिक धर्मग्रन्थले पनि संरक्षण पाउने छैन ।

पौराणिक धार्मिक एवं सांस्कृतिक स्रोतबाट पुस्तान्तरण भई आएको परम्परागत लोकगीत, लोककथा, उखान, टुक्का र सामान्य तथ्याङ्कलाई पनि प्रतिलिपि अधिकार कानुनले संरक्षण प्रदान गर्ने छैन । संरक्षण योग्य नभएका ध्वनि, अङ्कन, तथा प्रस्तुति खारेज हुने प्रस्तावित विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयकले अब कुनै पनि रचना कुनै मुलुकमा पहिलोपटक प्रकाशन भएको मितिले ३० दिनभित्र अन्य मुलुकमा समेत प्रकाशन भएमा एकैपटक प्रकाशन भएको मानेर संरक्षण प्रदान हुनेछ । वर्न महासन्धि र प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार यो व्यवस्था परिमार्जन गरिएको हो ।

अप्रकाशित रचना सम्बन्धी केही व्यवस्था थप गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । अप्रकाशित रचनाको संरक्षण अवधि रचयिताको जीवनभर र मृत्युको पनि ५० वर्षसम्म कायम हुनेछ । अप्रकाशित रचनाका रचयिता एकभन्दा बढी व्यक्ति भएमा पछिल्लो रचयिताको मृत्यु भएको अवधिबाट ५० वर्ष कायम हुनेछ ।

दृष्टिविहीन, दृष्टि क्षमता कम भएका व्यक्तिले प्रयोग गर्न मुद्रित भएका सामग्री वा पुनः उत्पादनमा प्रतिलिपि अधिकार नलाग्ने व्यवस्था प्रस्ताव छ । माराकेश सन्धि अनुसार सरकारले आन्तरिक कानुन संशोधन अघि बढाएको हो ।

यस्तै, अब मूल रचनाकारसँग प्रतिलिपि अधिकार लिएर काम गर्ने समयसीमा तोक्न प्रस्ताव गरिएको छ । प्रचलित अधिकार धनीबाट अधिकार लिएको तीन वर्षसम्म रचना प्रकाशन वा पुनरुत्पादन नगरेमा त्यस्तो सहमति स्वतः रद्द हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्