पोखरा, १४ वैशाख - स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख तथा उपप्रमुखमा आकाङ्क्षी धेरै भएपछि सबैको नामावली आज केन्द्रमा पठाइएको छ ।

महानगरपालिकामा पार्टीका तर्फबाट प्रमुखमा ३३ र उपप्रमुखमा १५ उम्मेदवारको आकाङ्क्षी भएपछि सहमति कायम गराउन दुई तीन चरणमा जिल्ला समितिको बैठक बसे पनि कुनै सहमति नजुटेपछि समितिले सबै नामावली केन्द्रमा पठाएको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख तथा उपप्रमुखका साथै गाउँ तथा नगरका वडाध्यक्ष र सदस्यका लागि सम्बन्धित क्षेत्रीय समितिले उम्मेदवारको टुङ्गो लगाउने गरी बैठक बसिरहेको उहाँले जानकारी दिनुभयो । “कास्कीका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ र ४ का धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाउने कार्य लगभग अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो, “ जिल्लाका २ र ३ नं क्षेत्रका केही वडामा भने क्षेत्रीय समितिमार्फत आकाङ्क्षीबीच अझै सहमतिको प्रयास भइरहेको छ ।”
यसैबीच महानगरपालिका समितिले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी ११ हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ.। समितिको आज बसेको बैठकले समितिका सभापति बजिरमान श्रेष्ठको संयोजकत्वमा महानगरपालिकाभित्रका वडाका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी र क्रियाशील सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेको समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो ।