
नेपाली कांग्रेसकी सांसद एवं कांग्रेसले गठन गरेको छाँया मन्त्रिपरिषद्की श्रममन्त्री डाक्टर डिला संग्रौलाले विगतमा बाँदर धपाउने काममा दुरुपयोग भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले कोभिड १९ का कारण बेरोजगार बनेकालाई रोजगारी दिन सक्छ भनी प्रश्न गरेकी छन् ।
विनियोजन विधेयकअन्तर्गत श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिएपछि श्रम मन्त्री रामेश्वर रायलाई पुरक प्रश्न गर्दै उनले देशभित्रका बेरोजगार र विदेशमा काम गुमाएका ४० लाखलाई रोजगारी दिनुपर्ने आवस्यकता औल्याएकी हुन ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८ लाखलाई रोजगारी दिने कुरा मन्त्रीज्यूले गर्नुभयो । लकडाउनका कारण देशभित्रका उद्योग कल कारखाना बन्द छन् । नेपालमा बेरोजगारको लामो लाइन छ । स्वदेशका बेरोजगार र विदेशबाट फर्केका ४० लाख रोजगारलाई रोजगारी दिनुपर्नेछ । बाँदर धपाउने र खेतबारीको घास उखेल्ने काममा प्रयोग गरेर अनियमितता गर्दा यो कार्यक्रमले समग्रलाई रोजगारी दिन सक्छ ?’ सांसद पन्तले प्रश्न गरिन् ।
जवाफमा मन्त्री रायले विगतमा बाँदर धपाउने र घास काट्ने काममा दुरुपयोग भएको आरोप लागेपनि त्यो पूर्ण सत्य नभएको बाए । ‘विगतमा शुरुवाती दिनमा प्रधामनन्त्री रोजगार कार्यक्रमबाट बाँदर धपाउने घास काट्ने काम गरेको नसुनिएको होइन । त्यतिखेर पनि कतिपयले शौखले कोही बाँदर धपाउन गएको होला । व्यक्तिगत तहको कुरालाई राष्ट्रिय नीति बनाउन मिल्दैन,’ मन्त्री रायले भने ।