
प्रतिनिधिसभाले पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ।
प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको जानकारी दिएका हुन्। पौडेल नेकपाका सांसद हुन्।
छानबिन समितिमा सांसदहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्।
समितिलाई कार्य प्रारम्भ गरेको मितिले ३० दिनको समय दिइएको छ।
सरकारले यसअघि गृहका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।
गत जेठ १० गते साँझ चौरजहारी ८ मा भएको घटनामा नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो।
पीडित पक्षले हत्या गरेर नदीमा फालेको आरोप लगाएका छन्।