
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ एवं सांसद पम्फा भुसालले नेपाल–भारत सीमामा तारबार लगाउनुपर्ने बताएकी छन् ।
नेपालको नयाँ नक्साको पक्षमा सिंगो संसदमा देखिएको एकता इतिहासको गर्वपूर्ण अवसर भएको र यसैको जगमा नेपालको भूमि फिर्ता लिनुपर्ने उनले बताइन् ।
‘खुला सीमा हुनुहुन्न, कोरोनाले एउटा पाठ सिकाएको छ । नेपालले पनि खुला सीमालाई व्यवस्थित गर्न ख्याल गर्नुपर्छ । जमिन फिर्ता ल्याउने वार्तापछि सीमालाई तारबार गर्नेतिर जानैपर्छ । कसैको १ इन्च भूमि खोसेका छैनौं । पछिल्ला दिनमा चीनसँग वार्ता भइसकेको छ, नेपालसँग किन बहाना खोज्ने ?’ भुसालले भनिन्, ‘वार्ताका लागि कुनै प्रकारको बहाना नखोजियोस् । सबै जनताले नेपाल सरकारलाई जुन अभिमत दिएको छ, सरकारले वार्ता र संवादबाट जमिन फिर्ता ल्याउने छ ।’
राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको लागि गरिएको लामो आन्दोलनका बीच आज ऐतिहासिक घडीमा उपस्थित भएकोे उनले स्मरण गरिन् । ‘२०६५ जेठ १५ गते यहीँ हलमा गणतन्त्रको घोषणा गर्दा, गौरवको अनुभूति भएको थियो र आज हामीलाई त्यसै गौरव भएको छ,’ उनले भनिन् ।
संविधान संशोधनको पक्षमा सबै दलको एकै स्वर हुनु नेपालको राष्ट्रियताको हिसाबले गर्व र खुशीको अवसर भएको उनले बताइन् । ‘सिंगो संसदमा देखिएको एकता इतिहासको गर्वपूर्ण अवसर हो । नेपाली जनता अत्यन्त खुशी र हर्ष प्रकट गरेका छन् । भूगोल ल्याउने कुरा सबैले सचेतकतापूर्वक कुरा उठाउनुभएको छ,’ उनले भनिन्, ‘तथ्य प्रमाणले त्यो भूभाग शतप्रतिशत नेपालको बताउँछ । संसदमा देखिएको सर्वसम्मतिको तागक र बलबाट जमिनलाई ल्याउने कुरामा सरकार लागोस् ।’