०८ साउन २०८३, शुक्रबार

नयाँ नक्सा पारित भएपछि कांग्रेसले भन्याे- भूमि फिर्ताको दोस्रो चरणमा गम्भीर कुटनैतिक पहलको अपेक्षा

नयाँ नक्सा पारित भएपछि कांग्रेसले भन्याे- भूमि फिर्ताको दोस्रो चरणमा गम्भीर कुटनैतिक पहलको अपेक्षा
फाइल फोटो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालकाे नयाँ नक्सा संसदबाट पारित भएकाे दिनलाई 'राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक' दिन भनेकाे छ।

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कुटनैतिक पहलको अपेक्षा गरिएकाे बताएका छन्।
 
'लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची-३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ । नेपाली कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा यो घडी हार्दिक बधाई ज्ञापन गर्दछ,' जारी विज्ञप्तिमा भनिएकाे छ।

नक्सा पारित हुनुसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको उल्लेख गर्दै कांग्रेसले भनेकाे छ, 'राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ । नेपाली कांग्रेस उच्च स्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न सरकारलाई आग्रह गर्दछ।'  

salt training

कमेन्ट गर्नुहोस्