
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देश अब अन्त्यहीन युद्धबाट दिशा परिवर्तन गर्ने र विश्वको प्रहरी नबन्ने घोषणा गरेका छन् । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पनि उनले यही घोषणा गरेका थिए तर त्यसलाई पूरा गरेनन् ।
अमेरिका अहिले इतिहासको महत्त्वपूर्ण क्षणमा प्रवेश गरेको ट्रम्पले बताए । उनले शनिवार यूएस वेस्ट पोइन्ट मिलटरी एकेडमीका ग्राजुएटहरूलाई दीक्षान्त भाषण दिने क्रममा यो कुरा बताएका हुन् ।
‘टाढाका भूभागमा पुराना द्वन्द्वहरू समाधान गर्ने दायित्व अमेरिकी सैनिकहरूको हैन,’ उनले भने । अनि वाशिङटन विश्वको प्रहरी अब नरहेको पनि उनले थपे ।
त्यसो त अघिल्लो निर्वाचनदेखि नै ट्रम्पले यस्तो प्रतिज्ञा गर्दै आएका छन् । तर उनले चार वर्षको शासनकालमा अमेरिकाको परराष्ट्रनीतिलाई शान्तिपूर्ण बनाएको देखिएको छैन ।
जर्मनीबाट अमेरिकाले ९ हजार ५०० सैनिक हटाउने भनी ह्वाइट हाउसले योजना बनाइरहेको भनी खबर आएसँगै ट्रम्पको यो भनाइ पनि सार्वजनिक भएको छ र यसले गर्दा अमेरिकाका साझेदारहरू र अमेरिकी सदनका युद्धपिपासुहरू विश्व मञ्चमा अमेरिकाको भूमिका कम भएकोमा चिन्ता गरिरहेका छन् । तर उनीहरूको चिन्ता आलोकाँचो हुन सक्छ ।
ट्रम्पले अहिलेसम्म कतैबाट पनि प्रभावकारी रूपमा अमेरिकी बलहरूलाई फिर्ता ल्याउन सकेका छैनन् । अमेरिकाले अफगानिस्तानमा शुरू गरेको अन्त्यहीन युद्धमा संलग्न अमेरिकी फौजहरू त्यहाँबाट छिटो निस्कने सम्भावना देखिँदैन । स्थानीय तालिबान लडाकूलाई हराउन नसकिएको अमेरिकाले स्वीकार गरिसकेको छ ।
इराकमा अमेरिकी बलहरूको उपस्थिति घटेको भए पनि सुदूर भविष्यसम्म उनीहरू त्यहीँ रहिरहने देखिन्छ । वाशिङटनले इराकी भूमिमा अमेरिकाको उपस्थिति उपयुक्त रहेको बताउँदै आएको छ ।
अनि सिरियाबाट अमेरिकी फौज हटाउनका लागि ट्रम्पले प्रयास गर्दा रक्षा मन्त्रालय पेन्टागनले फौज फिर्तीपछि आतंकवादी संगठन आईएस पुनः जागृत हुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ ।