
स्पेन, १५ बिलबाउ –नेपाली जनप्रगतिशिल मञ्च स्पेन शाखाले नेपाली समुदायलाई लक्षित गरेर सुशि (एक किसिमको जापानी परिकार) तालिम संञ्चालनमा ल्याएको छ । स्पेनको बिलबाउ शहरमा आयोजना गरेको कार्यक्रममा ३० जना नेपालीहरूको सहभागीता रहेको छ ।
मञ्चका अध्यक्ष गंगा भुषालले पछिल्लो समय युरोपका शहरमा सुशिका परिकार लोकप्रिय बन्दै गएकाले बिलबाउमा उक्त परिकार बनाउनेसम्बन्धि तालिम दिइएको बताए ।
कामका शिलशिलामा पछिल्ला समय युरोप प्रवेश गर्ने नेपालीको संख्या उच्च रहेको तर उचित सिप र क्षमताको अभावमा समस्यामा देखिएकाले मञ्चले समय –समयमा यस्ता तालिम सञ्चालन गर्दै आएको भुषालले बताए ।
‘सिप सिकौं, दक्ष बनौं’ भन्ने नाराका साथ तालिम सञ्चालन गरिएको हो । नेपाली प्रशिक्षक दावा शेर्पा र विशाल ढुङ्गानाले तालिम दिएका छन् ।
‘नेपाली भएर नेपाली आफ्नै समुदायहरुलाई विदेशमा आएर आफ्नो सिप सिकाउन पाउँदा गौरव लागेको छ,’ प्रशिक्षक ढुङ्गानाले भने ।
तालिममा सहभागी तारा पोखरेलले नेपाली प्रशिक्षकले सिकाउँदा सजिलोसँग बुझ्ने मौका पाएको बताईन् । अर्की सहभागी सुनिता भुर्तेलले पनि तालिमले क्षमता विकासमा सहयोग मिलेको बताईन् । गंगाराम सापकोटाले स्पेनिशसँग भन्दा नेपाली प्रशिक्षकबाट तालिम सिक्दा भाषा समस्या पनि नहुने भएकाले राम्रोसँग बुभ्mन सहयोग मिलेको बताए ।
मञ्चले बिहीवारदेखि १० दिनसम्म तालिम सञ्चालन गर्ने जनाएको छ । स्पेनका अन्य शहरमा पनि यस्तो तालिम विस्तार गर्ने मञ्चले बताएको छ ।
–दीपेन्द गजुरेल