एनआईसी एशिया बैकले ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट योजना सार्वजनिक गरको छ ।
बैंकले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्मा चुक्ता भुक्तान गर्नुभएमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिने बैंकले जनाएको छ ।
साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहनुभएका ग्राहक महानुभावहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।
यस बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहक महानुभावहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको जानकारी गराएको छ । त्यसैगरी यस बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्नेे ग्राहकको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्रै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको समेत जनाएको छ ।