
प्रतिनिधिसभाले नेपालको नयाँ राजनीतिक नक्सालाई निशाना छापमा राख्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि भारतमा आक्रोश छ ।
लिम्यिाधुरासम्मको भूभाग नेपालकै भए पनि त्यसको भोगचलन भारतले गर्दै आएको थियो । भारतको उत्तराखण्डमा रहेको धारचुलाबाट लिपुलेकसम्म भारतले बनाएको सडक नेपालको भूमि हुँदै जाने भएकाले नेपालले त्यसमा आपत्ति जनाएको हो ।
तर यसलाई भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले तेस्रो पक्षले नेपाललाई उक्साएको कारण भएको झगडा भने । उनको इशारा चीनतर्फ थियो ।
त्यस विषयमा बीबीसी हिन्दीले भारतका पूर्व सेनाप्रमुख जनरल विक्रम सिंहसँग कुरा गर्दा उनले भने, ‘म यस विषयमा कुनै टिप्पणी गर्न चाहन्नँ । भारत र नेपालको सम्बन्ध गहिरो र बहुआयामिक छ । अहिले भारतीय सेनामा ३२ हजार गोर्खा सैनिक छन् । ती सबै नेपाली नागरिक हुन् ।’
‘यो नक्साको विवाद कूटनीतिक र राजनीतिक तरिकाले समाधान गरिनेछ । नरवणेले के आधारमा त्यो टिप्पणी गरे मलाई थाहा छैन । उनी सक्षम अधिकारी हुन् । यस्तो बयान दिनमा उनले कुनै आधार लिएको हुनुपर्छ ।’
‘तर यसका बारेमा मलाई थाहा नभएकाले कुनै टिप्पणी गर्दिनँ । सैन्य अधिकारी भएका नाताले म सैन्य मामिलामा मात्र सीमित हुनुपर्छ भन्छु । केही अवश्य भएको होला जसले गर्दा सेनाप्रमुखले त्यस्तो भनेका हुन सक्छन् ।’