११ साउन २०८३, सोमबार

बुटवल उपमहानगरले श्रमिकलाई दियाे ज्यालादारीमा काम, राहत वितरण पनि सँगसँगै

८६ हजार जनालाई राहत
असार ३, २०७७
बुटवल उपमहानगरले श्रमिकलाई दियाे ज्यालादारीमा काम, राहत वितरण पनि सँगसँगै

बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनमा राहत वितरण, क्वारेन्टाइन र आइसोलेसन केन्द्र निर्माणका साथै  थुप्रै काम गरेको छ।

उपमहानगरले लकडाउनको अवधिमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न समुदायलाई राहत वितरण गर्नुका साथै ज्यालादारीमा कामको समेत व्यवस्था मिलाएको छ। 

श्रमजीवी बेरोजगार नागरिकलाई लक्षित गरी दुई चरणमा राहत वितरण गरेको बुटवलले तिनैमध्येका मजदुरलाई सुरक्षा प्रबन्धसहित विभिन्न वडामा ज्यालादारी कामको व्यवस्था मिलाएको छ। 

गरिखाने वर्गमा परेको पीडालाई मध्यनजर गरेर सुरक्षा प्रबन्धसहित उनीहरुको स्वास्थ्य चेकजाँच गर्दै ज्यालादारीमा काममा लगाइएको हो । 

लकडाउनको अवधिमा बुटवल उपमहानगरले १९ वटै वडाका २२ हजार सात सय दुई घर परिवारका ८५ हजार सात सय ५४ जनालाई राहत वितरण गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए।

लकडाउन अवधिमा दुई करोड ४४ लाख २२ हजार एक सय एक रुपैयाँ बराबरको राहत वितरण गरिएको र सुरक्षा प्रवन्ध मिलाएका ठाउँमा ज्यालादारीमा कामको समेत व्यवस्था मिलाइएको प्रमुख सुवेदीको भनाइ छ। 

बुटवल उपमहानगरपालिकाको विपत व्यवस्थापन तथा राहत कोषमा स्वेच्छाले जनस्तरबाट रकम समेत सहयोग भएको भन्दै सहयोग दातालाई आभार प्रकट गरिएको छ।

उक्त रकमलाई बुटवलले राहत वितरणदेखि आइसोलेशन, आइसीयु तथा भेन्टिलेटरसहितको अस्पताल निर्माणलगायतका काममा उपयोग गरेको जनाएको छ। 

कोषमा ७४ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ जम्मा गरिएको तथा ५२ हजार ७ सय ६९ किलो चामल, ३ हजार ६ सय ९ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, २ हजार ७ सय ३७ किलो नुन लगायत जिन्सी सामग्री सहयोग स्वरुप प्राप्त भएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।

उनले महामारीका बेलामा कहाँ कहाँबाट के–के सामान खरिद गरियो, कुन मूल्यमा के–के सामान खरिद गरियो भन्ने देखि यो बीचमा भएका सबै खर्चको विवरण सार्वजनिक गरिएको बताउँदै सबैलाई वेभसाइटमा पनि राखिने बताए।

राहत वितरणका लागि टोलस्तरबाटै  सबै दलीय संयन्त्र समेतको सहभागितामा छनौट भएर वडा तहबाट सिफारिस भएर आउने नामावली र राहत उपलव्ध गराउन इच्छुक समुदायसँग समन्वय गर्ने कामका लागि उपमहानगरले वरिष्ठ अधिकृत विजयदेव भुर्तेललाई फोकल पर्शनका रुपमा तोकेको थियो। 

नगरको नीति तथा कार्यक्रममा परेर स्वीकृत भएमध्येका तालिम गोष्ठितर्फको एक करोडभन्दा धेरै रकमलाई उपमहानगरले कोरोना नियन्त्रणमा लगाउने निर्णय गर्दै त्यस्ता सबै कार्यक्रम रोकेको थियो। 

लकडाउनको स्वरुप परिवर्तन भैरहेको वर्तमान अवस्थामा राहतभन्दा पनि नगरवासीलाई विकासको काममा रोजगार दिने लक्ष्य लिएर अहिले सोही अनुरुपका काम भइरहेको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए।

वडा नम्बर १६, १०, ७ र २ मा दैनिक ज्यालादारीमा रोजगारीका कामको व्यवस्था मिलाइएको रोजगार संयोजक अरबिन्द्र पाण्डेले बतााए।​ संयोजक पाण्डेका अनुसार वडा नं १६ स्थित निर्माणधिन बैठिलिया तालमा मर्मत कार्य र डुंगा चढ्ने ओर्लने सिँढीको निर्माण भइरहेको छ। त्यहाँ दोस्रो चरणको रोजगार शुरु भएको र सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले तोके अनुसारको ज्याला दिइएको पाण्डेले बताए। 

यस्तै वडा नं १० को नाली सफाई, वडा नंं ९ मा नाली निर्माण र वडा नं २ मा निर्माणधिन पर्यटन मार्गका लागि ज्यालादारीमा मजदुरलाई कामको व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यी ठाउँमा काममा खटिएका ७८ जनाको ज्वरोलगायत स्वास्थ्य परीक्षण गरिएको छ।

उनीहरु एउटै गाउँ र टोलका समेत भएकाले सुरक्षा प्रवन्ध मिलाउन सजिलो भएको बताइएको छ। अब वडा नं. १६ मा ४० जना, वडा नं. १३ मा ३५ र वडा नं. १४ मा ३५ जनाले थप रोजगार पाउने रोजगार संयोजक पाण्डेले बताए।

salt training

कमेन्ट गर्नुहोस्