काठमाडौँ, १५ वैशाख - उपराष्ट्रपति नन्दबहादुर पुनले सबै राजनीतिक दलले दिगो आर्थिक विकासको कार्यसूची बनाउनुपर्ने बताउनुभएको छ ।
माउन्ट एभरेस्ट ग्रुप प्रालिको माउन्ट एभरेस्ट ट्राभल एन्ड टुर्सको आज साँझ शुभारम्भ गर्दै उहाँले नेपालमा लगानीका लागि राम्रो वातावरण बन्दै गएको पनि बताउनुभयो ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा रोजगारीको अवस्था सिर्जना र लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक संस्थाका अध्यक्ष कमलराज अधिकारीले आफ्नो संस्थाले नेपालमा वायुसेवा, होटेल, पर्यटन, कृषि र जलस्रोत र शिक्षामा रु १० अर्ब लगानी गर्ने जानकारी दिनुभयो ।
विसं २०८२ तिर पाँच हजार जनालाई रोजगारी दिने लक्ष्य राखिएको संस्थाका नेपाल प्रतिनिधि युवराज पराजुलीले जानकारी दिनुभयो । बयालिस देशमा रहेका गैरआवासीय नेपालीको उक्त संस्थामा लगानी रहने बताइएको छ । रासस