प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको विरोध गर्नेहरू टाउकाले टेकेर हिँड्न खोजेको आरोप लगाएका छन् ।
बिहीवार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, 'खुट्टाले टेक्न छाडेर हातले या टाउकाले टेकेर हिंड्न किन जरुरी छ ?'
उनले एमसीसीको विरोध गर्नेहरू अनपढ भएको तर्क गरे । 'पढ्न अल्छी लाग्छ कि क्या हो ? एमसीसी पढेका मान्छे मैले त्यत्ति भेटिन । खोजेर ल्याएर पढे हुन्छ, हल्लाका भरमा कुद्ने र जसरी पनि विरोध गर्ने ?' उनले थप प्रश्न गरे ।
उनले पढेर यहाँ यहाँ समस्या छ भनेर भन्ने कुरा एउटा रहेको तर नपढीकनै विरोध गर्दै हिँडेको देखेर आफूलाई अचम्म लागेको बताए । 'कहाँ पढ्छन के पढ्छन् अचम्म लाग्छ मलाई,' उनले भने ।
उनी यतिमै रोकिएनन् । उनले कागले कान लग्यो भन्दैमा कागको पछि नदौडिन आग्रह गरे ।
'कागले कान लागिसकेपछि दुख्छ होलानी, नदुखे पनि छाम्न सकिन्छ होला नि,' उनले कटाक्ष गरे, 'पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ? के यस देशमा विकास हुन्छ भन्ने चिन्ता हो, अनुदान आयो भन्ने चिन्ता हो ?'
उनले महाकाली सन्धिको प्रसंगसमेत जोडे । 'महाकाली सन्धीका सन्दर्भमा बबण्डर आँधि हुरी चम्क्यो । म आश्चर्य चकित भएँ । हामी आफैंले अध्ययन गरेर ठीक छ भनेर हस्ताक्षर हुँदा हामी सरकारमा नभएको पार्टी पनि उपस्थित थियो । यो सही गरौँ त तपाईंहरूको पनि मन्जुर छ ? भन्दा मन्जुर छ भनेको हो ।'
प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेलामा पनि 'तो मै साइन करू' भनेर ३/४ पटक सोधेका थिए । पछि 'ठीक है, साइन किजिए भन्ने साथीहरू पछि उफ्रे,' उनले भने, 'त्यतिबेला गाँजा भाङ धतुरो खाएका त थिएनौं होला ।'