
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवारको नियमित प्रेस ब्रिफिङ थप २ जनाको संक्रमणकै कारणले मृत्यु भएको बताए ।
यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । डाक्टर गौतमले सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
उनको स्वास्थ्यमा समस्या आएपछि धनगढ़ीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
डाक्टर गौतमले त्यसपछि उनलाई प्रादेशिक अस्पताल सारिएको र उनको उपचारको क्रममा असार ३ गते साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको जानकारी दिए ।
डाक्टर गौतमले कैलालीको लम्कीचुहा २ की ४२ वर्षीया महिला जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगंज मेडिकल कलेजमा भर्ना गरिएको र अपरेशन गर्नुभन्दा अगाडि पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको जानकारी दिए ।
'असार २ गते नमूना संकलन गरिएकोमा भेरी अस्पताल प्रयोगशाला मा असार ३ गते साँझ कोरोना पुष्टि भएको हो,' डाक्टर गौतमले भने । उनको अस्पतालमै मृत्यु भएको हो ।