२६ असार २०८३, शुक्रबार

किम यो जोङ उत्तर कोरियाकी आगामी शासक ?

असार ५, २०७७
किम यो जोङ उत्तर कोरियाकी आगामी शासक ?

किम यो जोङ विगत केही वर्षयता उत्तर कोरियाकी प्रमुख नेताका रूपमा उदाइरहेकी छन् । 

उनी उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी हुन् । उनी किमको निकटवर्ती र शक्तिशाली सहयोगी मानिन्छ ।

किम यो जोङ सन् २०१८ मा पहिलोपटक अन्तर्राष्ट्रिय समाचारमा छाएकी हुन् । त्यतिखेर उनी दक्षिण कोरिया पुग्ने किम वंशकी पहिलो व्यक्ति बनेकी थिइन् । 

शीतकालीन ओलम्पिकका बेलामा एक प्रतिनिधिमण्डलका साथ उनी दक्षिण कोरिया गएकी थिइन् । दक्षिण र उत्तर कोरियाले संयुक्त टोलीका रूपमा शीतकालीन ओलम्पिकमा भाग लिएका थिए । 

सन् २०१८ मा उनले दाइ किमसँग मिलेर कूटनीतिक रणनीति बनाएको देखिएको थियो । त्यस वर्ष किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन, चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटघाट गरेका थिए । ती भेटघाटले किम यो जोङलाई अन्तर्राष्ट्रिय कूटनीतिको ढोका खोलेको थियो ।  

यसै वर्षको अप्रिल महिनामा यो जोङले दाइको निकट सहयोगीका रूपमा अनि वरिष्ठ राजनीतिकर्मीका रूपमा भूमिका निर्वाह गरिन् । अप्रिलमा किम केही हप्ताका लागि सार्वजनिक जीवनबाट गायब भएका थिए । 

त्यसले गर्दा किम गम्भीर बिरामी भएको वा उनको मृत्यु भएको आशंका पनि गरिएको थियो । त्यसपछि यो जोङलाई उत्तर कोरियाकी नयाँ शासक र किमको उत्तराधिकारीका रूपमा हेर्न थालियो । 

सन् २०१७ को अक्टोबर महिनामा शक्तिशाली पोलिटब्युरोको सदस्य बनेपछि यो जोङको राजनीतिक कद बढ्यो । त्यसअघि उनी किमको सार्वजनिक छवि र नीतिको प्रचारप्रसार गर्ने विभागकी उपनिर्देशक थिइन् । 

यो जोङलाई अमेरिकाले उत्तर कोरियामा मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाएको छ । यसको अर्थ हुन्छ, कुनै पनि अमेरिकी नागरिकले यो जोङसँग पैसा लेनदेन गर्न सक्दैन । 

उत्तर कोरियामा सत्ता र शक्तिको अनुमान गर्न गाह्रो छ । त्यसैले किमको राजनीतिक सञ्जाल कति बलियो छ भन्ने थाहा पाउन पनि गाह्रो छ । 

यो जोङको विवाह किमका दाहिने हात मानिने पार्टी सचिव चोए र्‍योङ हेका छोरासँग भएको मानिन्छ । त्यो सत्य हो भने यो जोङ थप शक्तिशाली छिन् । 

अहिले दक्षिण कोरियालाई उत्तरले गरेको कडीकडाउ व्यवहारमा यो जोङकै हात रहेको एनके न्युजले लेखेको छ । 

केही दिनअघि उनले उत्तर र दक्षिणको सीमामा रहेको निःशस्त्रीकृत क्षेत्रमा सेना पठाउने धम्की दिएकी थिइन् । दक्षिणको सीमापारिबाट उत्तरतर्फ प्योङयाङविरोधी पर्चा आएकोमा उत्तर क्रुद्ध भएर दक्षिणविरुद्ध कडा भएको हो । 
यो जोङले सीमा नजिक बनाइएको अन्तर्कोरियाली सम्पर्क कार्यालयको भवन पनि बम विस्फोट गरेर ध्वस्त पार्ने आदेश दिएकी थिइन् ।

सन् १९८७ मा जन्मेकी यो जोङ दाइभन्दा चार वर्ष कान्छी छिन् । दाजुबहिनीले स्विट्जरल्यान्डमा पढेका हुन् । 

स्विट्जरल्यान्डमा उनले पढेको विद्यालयका अधिकारीहरूका अनुसार, यो जोङ जतिखेर पनि अंगरक्षक र केयरटेकरहरूले घेरिएकी हुन्छिन् । एकचोटि उनलाई हलुका रुघा लाग्दा केयरटेकरले विद्यालयबाट सीधै अस्पताल लगेका थिए । 

विभिन्न रिपोर्टअनुसार, यो जोङले किम परिवारका अन्य सदस्यसँग खासै कुराकानी गर्ने गरेकी छैनन् । 

सन् २०१४ देखि यो जोङको मुख्य काम भनेको दाइ किमको छवि राम्रो बनाउने नै हो । सन् २०१७ मा पोलिटब्युरो सदस्य भएपछि पनि उनले दाइका नीतिहरूको प्रचारप्रसार जारी राखिन् ।

किम जोङ उन अहिले सार्वजनिक स्थानमा देखिने व्वस्थापन यो जोङले नै गर्ने गरेकी छन् । उनी दाइको राजनीतिक सल्लाहकार पनि हुन् । 

त्यसो त सन् २०१४ मा किम सार्वजनिक जीवनबाट गायब हुँदा पनि यो जोङलाई सत्ता सुम्पिइन लागेको भनी हल्ला चलेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्