१९ असार २०८३, शुक्रबार

मन्त्री केसीद्वारा ऐन नहेरी कार्यविधि बनाएको स्वीकार, एकीकृत कार्यविधि बनाउने प्रतिबद्धता

असार ५, २०७७
मन्त्री केसीद्वारा ऐन नहेरी कार्यविधि बनाएको स्वीकार, एकीकृत कार्यविधि बनाउने प्रतिबद्धता

कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले धमाधम कार्यविधि बनाउँदा विनियोजन ऐनमा ध्यान दिन नसकिएको स्वीकार गरेकी छिन् । उनले मनलाग्दी ढंगले कार्यविधि निर्माण गरेको खुलासा लोकान्तरले गरेको थियो ।

‘हामीलाई शुरूमै मुख्यमन्त्री, मुख्यसचिव, अर्थसचिव लगायतले कार्यविधि निर्माण गर्न र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका थिए,’ मन्त्री केसीले प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बोलाएको छलफल कार्यक्रममा भनिन्, ‘त्यही आधारमा बढीभन्दा बढी जनताको काम गर्ने हुटहुटीका कारण ऐन हेर्न पाएनौं, अब आगामी दिनमा हामी त्यो भूल सुधार गर्छौं ।’

उनले आफूहरूको नियत सफा भएको दाबी गर्दै मानवीय त्रुटि, अध्ययनको कमीका कारण यस्तो भएको बुझ्न समितिलाई आग्रह गरिन् ।

त्यसअघि समितिका सदस्य जीवनबहादुर शाहीले सरकारले मनलाग्दी कार्यविधि बनाउँदा गलत थिति बस्ने भन्दै मन्त्रीको जवाफ मागेका थिए ।

‘हामीले मन्त्रालयले बनाएका कार्यविधिहरू कानूनसम्मत नभएको पाएका छौं । विधि प्रक्रियासहित मात्रै सरकार अघि बढ्नुपर्छ, सरकारले मनलाग्दी गर्न पाइँदैन, सिमित कार्यविधि मात्रै बनाउनु पर्नेमा ४८ वटा कार्यविधि बनाइएको छ,’ उनले भने ।

अर्का सदस्य धर्मराज रेग्मीले मन्त्रालयले कानूनको कारखाना खोल्न थालेको हो कि भन्ने प्रश्न गरे । ‘हामी संसदहरू तपाईंहरूलाई आवश्यक कानून बनाउनका लागि तयार छौं । हामी खाली नै छौं,’ उनले भने, ‘नियममा नटेकेर जथाभावी कानूनको कारखाना नबनाउनुस् ।’ 

उनले अब डोल्पाका नागरिकले पनि सरकारले कानून बनाएको थाहा पाउनुपर्ने बताए ।

‘हामीले सुनेका छौं, कानूनको अज्ञानता क्षम्य हुँदैन । कानून थाहा पाएन भनेर कोही कसैले व्यक्ति हत्या गर्ने छूट लोकतन्त्रमा हुँदैन, किनकी कानूनको ज्ञान सहजै राज्यले नागरिकसँग पुर्‍याउनुपर्छ,’ उनले भने, ‘तर तपाईहरूले भने कानूनको बारेमा राजपत्रको प्रयोग नै गर्नुभएको पाइएन । अवैध तरिकाले सरकार चलाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

उनले सदनमा कार्यविधि निर्माणबारे आवाज उठाए पनि सरकारले नसुनेका कारण समितिमै बोलाउनुपरेको बताए । ‘शुरूमा नयाँ संरचना भएका कारण हामीले छूट दिएका हौं, अब तपाईंहरू हामीलाई विधेयक ल्याउनुस्, के समस्या पर्छ हामी वैधानिक रूपमा काम गर्न ऐन बनाइदिन्छौं ।’

सांसद चन्द्रबहादुर शाहीले सरकारले सदनलाई चिया चौतारीमा गफ गर्ने थलोको रूपमा लिएको बताए । उनले लोकतन्त्र विधिको शासन भएको बताउँदै मनपरितन्त्र स्वीकार नहुने बताए । सांसद देवी वलीले कथा सुनाइन् ।

‘एक महर्षिले २ जनालाई जमिन दिने सोच बनाए । उनले ती दुवै जनालाई जो जति जमिन छुन्छ, त्यति जमिन उसैलाई दिने भनेपछि ती दुवै जना दौडिए । एक जना विस्तारै ज्यान जोखिममा नराखेर दौडियो, अर्को ज्यान जोखिममा हालेर दौडियो । विस्तारै दौडिनेले जमिन पायो भने तीव्र दौडिनेको ज्यान गयो,’ उनले भनिन्, ‘मन्त्री केसीलाई पनि यस्तै बढीभन्दा बढी काम गर्ने हुटहुटी होला । कानूनसम्मत काम नगरेको खण्डमा भोलि समस्या आउन सक्छ । आजै कार्यविधि अवैध बनेर आइसकेका छन् ।’

उनले कानूनविपरीत बढ्न नहुने धारणा राखिन् ।

सांसद विन्दमान विष्ट, मिनासिंह रखालले पनि सरकारले मनपरी ढंगबाट नियम मिचेर कानून बनाउन नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्