काठमाडौं, १६ बैशाख स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन दुई चरणमा गर्दा पनि पूर्वघोषित वैशाख ३१ को मितिलाई केही पर सार्नुपर्ने भन्दै घुमाउरो प्रस्ताव राखेका थिए ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, ‘मैले प्रधानमन्त्रीको भावना बुझें अनुसार उहाँले घुमाउरो भाषामा वैशाख ३१ को निर्वाचन केही पर सार्ने वा निर्वाचन एकै चरणमा गर्ने दिविधा युक्त धारणा राख्नुभयो।’
चौधरीका अनुसार दाहालले प्राविधिक समस्या देखाएर वैशाख ३१ को निर्वाचनलाई पर सार्नुपर्ने संकेत गरेपनि स्पष्ट रुपमा यो धारणा बैठक समक्ष राखेका थिएनन् ।
बैठकमा सहभागी अधिकांश नेताहरूले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको चौधरीले जानकारी दिए । सत्तापक्षका नेता नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री दाहाललाई पैसाको खेलमा लागेर संंशोधन प्रस्ताव पारित गराउनतर्फ नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।