
डब्लूएचओले भन्यो– 'नेपालमा कोरोना महामारी कायमै छ, सतर्क रहनुस्'
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले नेपालमा कोरोना महामारी कायमै रहेकाले सतर्क रहन अपिल गरेको छ ।
डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरले लकडाउन खुकुलो भएको अवस्थामा थप सचेत रहन अपिल गरेका हुन् ।
नेपालमा लकडाउन खुकुलो भएपछि गतिविधिहरू बढेका छन्, जसले कोरोना संक्रमण फैलिने जोखिम पनि बढेको छ ।
उनले मानिसहरूलाई भीडभाडमा नजान, अत्यावश्यक अवस्थामा दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुन पनि अपिल गरेका छन् ।
पाल्पामा पहिराेमा पुरिएर मृत्यु हुनेकाे संख्या तीन पुग्याे
पाल्पाकाे तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ। एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उनले बताए।
सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
स्वास्थ्य सामग्रीमा अनियमितता भएको लेखा समितिको निष्कर्ष, असम्बन्धित व्यक्ति पनि संलग्न !
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
स्वास्थ्य सामग्री खरिदमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएर अख्तियारको दुरुपयोग भएको र महंगोमा स्वास्थ्य सामग्री खरिद गरिएको समितिको ठहर छ ।
संसद् सचिवालय सिंहदरबारमा सोमवार बसेको समिति बैठकले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरूपयोग गरिएको र अनियमितता भएको निष्कर्ष निकालेको सभापति भरतकुमार साहले बताए ।
‘खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका देखिएन,’ सभापति साहले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग सामान खरिद गर्दा स्वास्थ्य विभागका महानिर्देशकलाई बाइपास गरेर सम्झौता गरेको थियो ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै चर्को विरोध भएपछि सरकारले चैत २० गते ओम्नीसँग गरेको सम्झौता रद्द गरेको थियो । त्यसपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
प्रारम्भिक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रालिलाई वार्तामा सहभागी गराएको र कोटेशन लिएको, लागत अनुमान नेपाली रुपैयाँमा तयार गरी अमेरिकी डलरमा सम्झौता गरेका कारणले स्वास्थ्य सामग्रीको मूल्यमा तलमाथि परेको सभापति साहले बताए ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार प्रकाशित भएपछि लेखाले छानबिन शुरू गरेको थियो ।
सोमवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य विभागमा महानिर्देशकलाई समितिमा बोलाइएको थियो ।