२५ असार २०८३, बिहीबार

पेटभित्रै बच्चा मरेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

असार १०, २०७७
पेटभित्रै बच्चा मरेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

सुत्केरी व्यथाले च्यापेपछि सोमवार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मंगलवार मध्याह्न हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं पठाइएको हो ।

सुत्केरी व्यथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्राव समेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. नारायण बरालले बताए । ‘सोमवार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ,’ उनले भने, ‘ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्ने हुँदा थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।’
  
दोस्रो पटक गर्भवती भएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्राण्डी अस्पतालको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मन्दिराको ३ वर्षीय छोरा छन् ।

मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताए । ‘मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकप्टरमार्फत उद्धार गर्न सफल भइएको छ,’ उनले भने, ‘काठमाडौं अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरू गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।’

केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका ४ जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिसकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्