
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारका काम कारवाहीबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बुधवार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकका एजेन्डाबारे मंगलवार छलफल भएको थियो । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार पहिलो दिनको बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनसहित मन्तव्य पेश गर्नेछन् ।
पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरूले भने सरकारको काम कारवाहीको विषयमा प्रश्न उठाउने तयारी गरेका छन् ।
नेकपाको यसपटकको स्थायी कमिटी बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनबारे पनि पनि बहस हुँदैछ ।
वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले एमसीसी अनुमोदन गर्न नहुने भन्दै लबिङ गरिरहेका छन् ।