
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार दिने कुरा अहिलेको समय र समाजका लागि स्वीकार्य नभएको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सभापति देउवाले महिला र पुरुषबीच विभेदको रेखा नकोर्न आग्रहसमेत गरेका छन् ।
'महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ,' उनले लेखेका छन्, 'हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ । छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि ।'
उनले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु नहुने बताए ।
उनले थप लेखेका छन्, 'यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।'