१६ असार २०८३, मंगलबार

वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

असार १३, २०७७
वर्षाको पानीले चल्नसक्छ सहरी जीवन
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पुर्‍याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ ।

वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।

विशेष गरी सहरी क्षेत्रमा पानीको सधैँ हाहाकार हुन्छ । यस्तो अवस्थामा आकाशे पानी सङ्कलन गरी पानीको अभाव टार्ने उपाय हो भन्नुहुन्छ, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य ।

राजधानीका बासिन्दाले मेलम्चीको पानी चलाउने सपना देखेको करिब दुई दशकभन्दा बढी भयो । त्यो सपना अझै धकेलिने स्थिति छ । यस्तो बेलामा आकाशे पानी सङ्कलन र पुनर्भरण कार्यलाई विशेष जोड दिन सके पानीको अभाव आफ्नै सुझबुझले हटाउन सकिने उनको दाबी छ ।

काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले डल्लु आवास क्षेत्रमा घर बनाउँदा आकाशे पानी सङ्कलन गर्न नक्सा पारित गर्दा अनिवार्य नै बनाइएको जानकारी दिए ।

वडा १५ को भवन र त्यस वरपरका घरको छानाबाट झर्ने पानी इनारमार्फत पुनर्भरण गरिएको बताउँदै उनले हरेक घर, टोलले छानाबाट झर्ने पानी सङ्कलन र बढी भएको पानी पाइपमार्फत जमिनमै पुनर्भरण गर्ने हो भने बाढी पनि नआउने तथा धारा, इनारमा पानीको अभाव नहुने बताए । गैरसरकारी संस्था गुठीले लामो समयदेखि सहरी क्षेत्रमा आकाशे पानी सङ्कलन गर्न प्राविधिक÷आर्थिक सहयोग गर्दै आएको छ । विभिन्न स्थानमा आकाशे पानी सङ्कलन र पुनर्भरणको काम सफल भएको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिए।

उनले मनसुनको समयमा आकाशबाट झर्ने पानी सङ्कलन र सदुपयोग गर्न सके पानीको सङ्कट सधैँका लागि हटाउन सकिने बताए। नेपालमा वार्षिक १६ सय मिलिमिटर पानी पर्छ । सुरुको करिब तीन पटक जतिको पानी छानाबाट त्यत्तिकै बग्न दिँदा छानो सफा हुन्छ । उनले त्यसपछि छानामा बनाइएका प्लास्टिकका संरचना, पाइपमार्फत सङ्कलन गरिएको पानी घरका सम्पूर्ण काममा चलाउन सकिन्छ भने पानी निर्मलीकरणको उपाय अपनाएर पिउनसमेत मिल्छ भने ।

सङ्कलन गरी बढी भएको पानी इनार र रिचार्जमार्फत जमिनमा पठाउन सकिने अमात्यको प्राविधिक सुझाव छ । गुठीले गरेको अध्ययन अनुसार पाँच आना जग्गामा बनेको घरको छानाबाट वर्षामा एक लाख २८ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ । यसको ८० प्रतिशत मात्र पानी उपयोग गर्ने हो भने एक लाख दुई हजार चार सय लिटर पानी सञ्चय वा उपयोग गर्न सकिन्छ ।

उक्त अध्ययन अनुसार काठमाडौँका सम्पूर्ण घरको छानाको पानी सङ्कलन गरे वार्षिक एक अर्ब २८ करोड लिटर पानीको जोहो गर्न सकिन्छ । महानगरपालिकाले घर बनाउन नक्सा पारित गर्दा आकाशे पानी सङ्कलन र पुनर्भरणलाई प्रोत्साहित गर्र्ने लक्ष्यले त्यस्तो प्लान्ट राख्ने घरका लागि नक्सा पारित दस्तुरमा छुटको व्यवस्था गरेको छ । गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्