
बुटवल, असार १३ । शनिबार रुपन्देहीमा देखिएको सहल नियन्त्रणका लागि प्रदेश सरकारले नयाँ जुक्ति निकालेको छ । बाली र रुखबिरुवा नष्ट गर्ने सलह नष्ट गर्न प्रदेश ५ सरकारले सलह कीरा खरीद गर्ने भएको छ । सलह कीरा समातेर प्रदेश सरकारलाई बुझाउनेले १ किलोको २० रुपैयाँ पाउने छन् ।
शनिबार रुपन्देही र कपिलवस्तुका केही भागमा सलह कीरा देखिएपछि त्यसलाई नष्ट गर्नका लागि प्रोत्साहनस्वरुप प्रतिकिलो २० रुपैयाँका दरले खरीद गर्ने निर्णय भएको प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेलले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश सरकारले यसको जिम्मा स्थानीय तहका वडा कार्यालयहरुलाई दिने छ । ‘यो कीराले सबै बालीनाली नष्ट गर्छ, हाम्रो बाली नष्ट गर्नुअघि नै यसलाई नष्ट गर्ने काम गर्न जरुरी छ, उनले भनिन, ‘किसानले जसरी पनि यसलाई नियन्त्रण गर्नुपर्छ, त्यसो गर्दा प्रदेश सरकारले केही प्रोत्साहन दिने निर्णय गरेको हो ।’
उनका अनुसार कीरा समातेर नष्ट गर्नु वा हाँस, कुखुरा, माछा र सुंगुरको दानाको रुपमा प्रयोग गर्नु नै उपयुक्त विकल्प हो । ‘यसलाई औषधी छरेर नष्ट गर्नुभन्दा यसलाई उपयोग गर्न सकियो भने हामीलाई दोहोरो फाइदा हुन्छ, उनले भनिन ‘कीराका लागि प्रयोग गरिने औषधीले हामीलाई असर गर्न सक्छ, त्यसैले यो कीरालाई रातीको समयमा समातेर बोरामा हालेर प्रदेश सरकारलाई बेच्न पनि सकिने भयो, आफैले दानाका रुपमा पशुपंक्षीलाई खुवाउन पनि सकिने भयो ।’
सलह रुपन्देही प्रवेश गरेपछि आकस्मिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहको प्रदेश विपद् व्यावस्थापन समितिको बैठक बसेर सलह कीरा नष्ट गर्नका लागि प्रोत्साहन गर्ने, यसको प्रभावित क्षेत्र हेरेर थप निर्णय गर्ने निर्णय भएको कृषि मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए । उनले सलह कीराको संख्या हेर्दा थोरै र प्रजननका लागि उपयुक्त मौसम नभएकाले तत्कालै ठूलो क्षति गर्न नसक्ने भएपनि सतर्कता अपनाउनुपर्ने बताए ।