
कोरोनाभाइरसले आफ्नो रूप निरन्तर परिवर्तन गरिरहेकोले यसविरुद्ध खोप बनाउन जुटेका वैज्ञानिकहरू यसको आनुवंशिक परिवर्तनमा कडा निगरानी गरिरहेका छन् ।
एनपीआर डट् ओआरजीमा छापिएको खबरअनुसार, कोरोनाको रूप परिवर्तन भइरहेको भए पनि खोप नै काम नलाग्ने गरी चाहिँ आमूल परिवर्तन भइरहेको छैन ।
स्विट्जरल्यान्डको बसेल विश्वविद्यालयमा महाव्याधि विषयकी विज्ञ एम्मा होडक्रफ्ट भन्छिन्, ‘कोरोनाभाइरसमा परिवर्तन तीव्र गतिमा भए पनि चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’
अमेरिकाको जोन्स हप्किन्स अप्लाइड फिजिक्स ल्याबका वरिष्ठ वैज्ञानिक पिटर थिलेन भन्छन्, ‘अहिलेसम्म एकदमै कम म्युटेसन भएको पाइन्छ । अहिले कोरोनाभाइरसका ४७ हजार जिनोम इन्टरनेसनल डेटाबेसमा स्टोर गरिएका छन् । जिनोमहरूको अध्ययनबाट भाइरसमा कस्तो परिवर्तन आइरहेको छ भन्ने थाहा हुन्छ ।’
संसारको कुनै पनि कुनामा कुनै वैज्ञानिकले इन्टरनेसनल डेटाबेसमा नयाँ जिनोम राखेपछि त्यसको अध्ययन गरिन्छ । अहिले फैलिरहेको भाइरस चीनमा शुरूमा भेटिएको भाइरस जस्तै छ । पिटर थिलेनका अनुसार, जनवरी
महिनामा कोरोनाका लागि जस्तो खोप विकसित गरिन्थ्यो होला, अहिले पनि त्यस्तै किसिमको खोप तयार पार्ने कोशिश गरिँदैछ ।
तर एकचोटि खोप दिए पुग्छ कि प्रत्येक वर्ष खोपलाई अद्यावधिक गर्नुपर्ने हुन्छ भन्ने प्रश्नको जवाफ अहिले अनिश्चित छ ।