
नेपाल र भारतबीच बढिरहेको तनावका कारण सीमावर्ती क्षेत्रका मानिसहरू समस्यामा परेका छन् ।
दुवै देशले सुरक्षालाई मद्देनजर गर्दै सीमामा सेना तैनाथ गरेका छन् । सीमामा बस्ने अनेकौं मानिसका नातेदार सीमापारि बस्छन् । उनीहरूलाई भेटघाट गर्न गाह्रो परेको छ ।
जुन १३ मा बिहारको सीतामढीमा अचला नामक महिल सीमा पार गरेर आमाबुवालाई भेट्न नेपाल आएकी थिइन् । भेटघाटप्रति नेपाली प्रहरीले आपत्ति जनायो । अनि गाउँलेहरूबीच झगडा भयो र गोली समेत चल्यो ।
गोली लागेर जानकीनगरका बिकेश कुमारको मृत्यु भयो भने दुईजना घाइते भए ।
अचला भन्छिन्, ‘म आमाबुवालाई भेट्न आउँदा यस्तो झडप हुन्छ भन्ने थाहा पाएको भए भेट्नै आउँदिनथिएँ । मैले उहाँहरूलाई राम्ररी भेट्न पनि पाइनँ । प्रहरीले लट्ठी हान्न थाल्यो । हामी ज्यान बचाएर भाग्नुपर्‍यो ।’
अचलाको सानो बच्चा छ । उनी भन्छिन्, ‘मैले छोरो हेर्नका लागि हजुरबुवा हजुरआमालाई सीमामा बोलाएका थिए । सीमामा भेट्ने निश्चित भएको थियो । प्रहरीले अनुमति पनि दिएको थियो तर एकछिनमा प्रहरीले हामीलाई हटायो ।’
यस घटनापछि सीमावर्ती मानिसहरूमा डरको वातावरण छ र नातेदारहरूसँग भेट्न हिचकिचाइरहेका छन् ।
झडप तथा गोलीकाण्डपछि गाउँमा तनावको स्थिति छ । तर सशस्त्र सीमा बल र सीतामढी प्रहरीको सक्रियताका कारण फेरि हिंसा भएको छैन ।
सीतामढी प्रहरीका अधीक्षक अनिल कुमार भन्छन्, ‘लकडाउन उल्लंघनको घटना थियो त्यो । तर यताका मानिसले भीड गरेर नेपालको सशस्त्र प्रहरीसँग झगडा गरे । झगडा गरेको ठाउँ नेपाल सीमाभित्र पर्छ । अर्थात् हाम्रा मानिसले नो म्यान्स ल्यान्ड पार गरेका थिए ।’
नेपाली प्रहरीले अचलाका ससुरा लगन रायलाई कुटपिट गरेको आरोपमा सीतामढी एसपी भन्छन्, ‘लगन राय आएपछि हामीले मेडिकल चेकअप गराएका थियौं । कुनै गम्भीर समस्या देखिएन । त्यसपछि उनलाई घर जान दिइयो ।’
एसपी अनिल कुमारले भने, ‘तनाव त छ तर शान्ति छ । हामी स्थानीयहरूलाई उता जान रोकिरहेका छौं । प्रहरीले सीमावर्ती गाउँमा लगातार गश्ती गरिरहेको छ ।’
नेपालको सशस्त्र प्रहरीका प्रमुख नारायणबाबु थापाले भने, ‘भारतीयहरूले भीड बनाएर प्रहरीमाथि आक्रमण गरेका थिए । उनीहरूले हाम्रा जवानको हतियार पनि खोसे । हामीले पहिला दस राउन्ड हवाई फायर खोल्यौं अनि आत्मरक्षाका लागि ओपन फायरिङ पनि गर्नुपर्यो ।’
सीमावर्ती क्षेत्रमा बस्ने शम्भु भन्छन्, ‘घटनापछि दुवैतर्फ आक्रोश छ । लकडाउन चलिरहँदा पनि हामी नेपालतिर जान्थ्यौं किनकि त्यतातिर हाम्रो खेत छ र नातेदारहरू बस्छन् । तर विगत १५ दिनदेखि कोही पनि आवतजावत गरिरहेको छैन । उताका मान्छे अर्को देशका निवासी हुन् भन्ने पहिलोपटक अनुभव भएको छ । यसअघि यस्तो अनुभव हामीलाई भएको थिएन ।’
शम्भुकी आमा र काकी नेपालमा बस्छन् । उनी भन्छन्, ‘मेरो कुरा मात्र हैन, यहाँको प्रत्येक परिवारको सम्बन्ध नेपालसँग जोडिएको छ । तर हामीले नातेदार भेट्न नपाएको स्थिति कहिल्यै थिएन ।’