
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ संसद्को कार्यसूचीमा चढेर आजका लागि हटेको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकको कार्यसूचीको ४ (घ) मा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने उल्लेख थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बहाम्फेले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बाँकी कार्यसूची हटाइएको हो ।
बैठकको अन्तिममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सोमवारको कार्यसूचीको ४ नम्बरमा रहेका ख, ग, घ र ङ हटाइएको घोषणा गरे । निजी क्षेत्रलाई समेत अख्तियारको दायरामा ल्याउने प्रावधानलाई लिएर विधेयकको विरोध भएको थियो ।
असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको थियो ।
कार्यसूचीमा रहेका विषय हटाउने संसदीय प्रचालन रहेको छ ।
सरकारले गतवर्षको माघ ६ गते राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक दर्ता गरेको थियो ।
हेर्नुहोस्, कार्यसूची :
