
सरकारले नियमपूर्वक १४ दिन क्वारेन्टीनमा बसेर फर्किएकाहरूलाई विनाअवरोध घरमा प्रवेश दिन अपिल गरेको छ ।
१४ दिन क्वारेन्टीनमा बसेकाहरूलाई घरबेटीले पीसीआर रिपोर्टविना घर प्रवेश गर्न नदिएकोतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले जारी गरेको निर्देशिकाविपरीत कार्य नगर्न अपिल गरेका छन् ।
१४ दिनसम्म नियमपूर्वक क्वारेन्टीनमा बसेका र कुनै लक्षण नदेखिएकामा कोरोना संक्रमण नहुने र भएपनि यस्ता संक्रमितबाट संक्रमण नसर्ने दाबी प्रवक्ता गौतमले गरे ।
उनले नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइयो ।
संक्रमितमध्ये ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको उनको भनाइ छ ।